बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
विचार
Oct 23, 2011
नेपाली मिडियालाई पर्व, भारतीय मिडियालाई हर्ष न विस्मात
आईतवार, कार्तिक ६, २०६८
शिव अधिकारी
काठमाडौं

नेपालका पाँचौं कम्न्यूष्ट प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण आइतबार सकिदै छ । सद्भावना भ्रमणको संज्ञा दिइएको यस भ्रमण भट्टराईको प्रधानमन्त्री बनेपछिको पहिलो औपचारिक भारत भ्रमण हो । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत भ्रमण गरेका हुन् । यस्तो भ्रमणको मिडिया ‘कभरेज’ त हुने नै भयो ।

प्रधानमन्त्री भट्टराई धेरै अर्थमा भारतसँग गहिरो सम्बन्ध राख्ने व्यक्ति हुन् । पहिलो त उनले पढाईका समयमा १० वर्षे काल बिताएको अध्ययन भूमी भारत नै हो । दोस्रो भट्टराई माओवादी पार्टीभित्रै भारतपरस्त आरोप लाग्दै र खेप्दै आएका व्यक्ति हुन् । तेस्रो जनयुद्धकालमा ज्यान जोगाउन लुकिछिपी बस्ने उनको आधारभूमी भारत नै हो । चौंथो भारतले माओवादीभित्र नरम र आफूसँग मिजासिलो व्यबहार गर्ने भनेर सोच्ने व्यक्ति पनि बाबुराम भट्टराई नै हुन् ।

यिनै विभिन्न कारणहरुको प्रभाव हुनसक्छ, प्रधानमन्त्रीको भारत भ्रमणप्रति नेपाली मिडियाको अत्यधिक चासो । अझ दुई छिमेकीबीचको सरकार प्रमुखको भ्रमणको विषय त छँदै नै छ । प्रधानमन्त्रीको भारत भ्रमणको तिथि तय भएदेखि नै गर्मी चढेको नेपाली मिडियालाई अझै सेलाउन उपयुक्त लागेको छैन । भ्रमणको तिथि निश्चित भएदेखि नै कहिले परराष्ट्र स्रोत, सन्दर्भमा त कहिले प्रधानमन्त्रीको निजी स्रोत, सन्दर्भमा विभिन्न सञ्चारमाध्यमहरुमा विभिन्न खाले समाचारहरु छाइरहे । यही मेसोमा केही सञ्चारमाध्यमहरुमा कुटनीतिज्ञ र राजनैतिक व्यक्तित्वहरुको भ्रमण सम्बन्धी बिचारोत्तेजक लेख, रचनाहरु प्रकाशित, प्रशारित भइरहे । यसलाई यहाँ गलतै हो भन्न खोजिएको पक्कै होइन । कतै जान लागेको व्यक्तिलाई ‘यसरी’ जानुपर्छ र ‘यस्तो’ गर्नुपर्छ भनेर सल्लाह, सुझाव दिने हेतुले पस्किएको सामाग्री सबैको खोजमा पर्ने कुरा हो । अझ जनतालाई सूचनाको सम्पूर्ण पक्षको जानकारी गराउनु त सञ्चारमाध्यमको अकाट्य दायित्व नै हो ।

प्रधानमन्त्रीको भ्रमण अगावै तातेको नेपाली सञ्चारजगत प्रधानमन्त्रीले भारत भ्रमण गरेको दिनदेखि त अझ तात्न थाल्यो । पलपलको समाचार, क्यामाराका दृष्यहरु निरन्तर नेपाली समाचार माध्यमहरुमा आइरहे । प्रधानमन्त्री भट्टराई कतिखेर कहाँ पुगे ?, कतिखेर कसलाई भेटे ?, के भने ? जस्ता प्रसंगहरु हरेक नेपाली सञ्चारमाध्यमको मूख्य खबरै बन्यो । नबनोस् पनि किन ? एक त देशको सरकार प्रमृख, अर्को छिमेकी मित्र राष्ट्रको औपचारिक भ्रमण । सबैको खोजीमा परेको कुरा सञ्चार माध्यमले नपस्कने कुरै भएन । त्यो पनि नेपाली जनताले अति नै आशा गरेका प्रधानमन्त्रीको विदेश भ्रमणको खबर सम्बन्धी जानकारीहरु निरन्तर प्रवाह नगरी बस्न मिडिया कसरी पो सक्छ र ?

प्रधानमन्त्रीको भारत भ्रमणले देशको सम्पूर्ण क्षेत्र प्रभावित बन्यो । राजनैतिक, सामाजिक, आर्थिक लगायतका घटनाहरु प्रायः देशभित्र सून्य जस्तै रहे । राजनीतिमा पनि भ्रमणकै कुरा, आर्थिक, सामाजिक सबै क्षेत्रमा प्रधानमन्त्रीको भारत भ्रमणकै विषयले प्रवेश पायो । यस्तोमा नेपाली मिडियाले प्रधानमन्त्रीको भारत भ्रमणलाई उच्च महत्व दिनु सान्र्दभिकै कुरो हो । तथापी प्रधानमन्त्रीको भारत भ्रमणले देशमा घटेका कतिपय घटनाहरु ओझेलमा परेको कुरा भने कसैले पनि बिर्सनु हुँदैन । झन् सञ्चारजगतले त त्यस्ता कुराहरु सकेसम्म छुटाउनै हुँदैन ।

यता नेपालमा, नेपाली मिडियालाई प्रधानमन्त्रीको भारत भ्रमण कुनै ठूलो पर्वभन्दा कम देखिएन । उता भारतीय मिडियालाई भने दुई छिमेकी मुलुकबीचको यस भ्रमणको खासै महत्व रहेन । छिमेकी देशको सरकार प्रमुख देश भ्रमणमा आउँदा हुने हर्षोल्लासको एकरत्ति रौनक पनि भारतीय मिडियाले देखाएनन् । सूचना प्रवाह गर्ने सामान्य औपचारिक कतव्र्यभन्दा माथी नेपालको प्रधानमन्त्रीको भ्रमणलाई भारतीय मिडियाले महत्व दिनुपर्ने उचित ठानेनन् । नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच भेटवार्ता भईरहँदा पनि भारतीय मिडियालाई त्यसको समाचारले ध्यान आकृष्ट गर्न सकेन । बरु, त्यसको सट्टामा देशभित्रकै सामान्य सूचना प्रवाह गर्नु नै भरतीय सञ्चारजगतले सन्तोषको विषय ठाने । यता नेपाली मिडियामा भने प्रधानमन्त्रीले भेटेका प्रत्येक व्यक्ति र वार्ताका ‘ब्रेकिङ्ग न्यूज’हरु बारम्बार सञ्चारमाध्यमहरुमा आइरहे ।

भारतीय केही सञ्चारमाध्यमहरुमा विवादास्पद विषयहरुमा सम्झौता गर्न नहुने सामान्य जानकारी बाहेक नेपालका सरकार प्रमुखका भ्रमणलाई खासै उल्लेख गरिएन । बिगतमा अन्य देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख भारत भ्रमणमा जाँदा भारतीय सञ्चारमाध्यमहरुले गर्ने चर्चा, परिचर्चाको एकऔंस पनि प्रधानमन्त्री भट्टराईको भ्रमण कार्यक्रमलाई गरिएन । बिगतमा अन्य देशका विशिष्ट व्यक्तित्वहरु भारत भ्रमणमा रहँदा दिनरात जाग्ने भारतीय सञ्चारमाध्यमहरु यसपटक ब्यूँझिएनन् । भारतीय सञ्चारमाध्यमहरुले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई ठूलो विषयको रुपमा लिनुपर्ने आवश्यकतै ठानेनन् ।

भारत विश्वमा आर्थिक प्रगतिको पथमा लम्किरहेको एक शक्तिशाली मुलुक हो । नेपाल आर्थिक प्रगतिको पथमा भारतभन्दा निकै पछाडि परेको राष्ट्र हो । तथापी नेपाल इतिहासको प्रारम्भिक कालदेखि नै एक सार्वभौमिक र स्वतन्त्र, अखण्ड मुलुक हो । यसको आफ्नै भौगोलिक सीमा र अस्थित्व छ । यस्तो देशको सरकार प्रमुखको भ्रमण छिमेकी सञ्चारमाध्यमहरुलाई रुचिकर नहुनु अशोभनीय कुरो हो । भारतीय मिडियाले यस भ्रमणलाई यस्तरी लिए, मानौं– ‘माग्नेलाई तातो भात ।’ भारत भन्दा हरेक कुरामा कमजोर मुलुक भारतमा माग्न आउने न हो, माग्न आउनेलाई केको स्वागत, सत्कार ? त्यो चाहे छिमेकी देश होस्, चाहे कयौं कोस टाढाको देश । भारतीय सञ्चारमाध्यमले बुझेको कुरा यही होइन ? यो कुरा आफूले आफूलाई र आफ्नो देशलाई होचो देखेर लेखिएको पक्कै होइन, नत्र भारतीय मिडियाले देखाएको चरित्रले अर्को कुन उत्तर प्रष्टाउँछ ?

भारतीय मिडियाले भ्रमणबारे ठूलो टिकाटिप्पणी गर्नु आवश्यक नठाने पनि भारतीय जनताले भने प्रधानमन्त्री भट्टराईप्रति सहानुभूति देखाए । यो कुरा जेएनएनयूमा प्रधानमन्त्री भट्टराईलाई हेर्न र सुन्न उपस्थित भारतीयको भीडलाई नियाल्दा प्रष्ट हुन्छ । चाहे त्यो भट्टराईको कहलिएको लोकप्रिय छविकै कारण किन नहोस् ? यस कुरालाई मध्यनजर गर्दा भारतीय जनता छिमेकी मुलुकका सरकार प्रमुखलाई हेर्न, सुन्न र देख्न चाहन्छन् । तर, भारतीय जनताको त्यही आकांक्षालाई कुठाराघात भारतीय मिडियाले नै गरिदिए । यो मनगढन्ते बहस होइन, नेपथ्यको सत्य चित्र यही नै हो ।

अन्ततः प्रधानमन्त्रीको औपचारिक भारत भ्रमण यसपटकको लागि टुङ्गिएको छ । यस भ्रमणले दुईपक्षीय सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण कडिको काम ग¥यो कि गरेन ?, भ्रमणले कसलाई कति र कस्तो फाइदा पुग्यो ? त्यो छुट्टै बहसको पाटो हो । त्यो भविष्यमा देखिएला पनि ! तर, प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली र भारतीय मिडियमा देखिएका मौलिक रुप यही हो । जुन कतैको मिडियाले यति धेरै महत्वको दृष्य सार्वजनिक गरेका छन्, बेबकुफी पनि लाग्न सक्छ । त्यस्तै अर्कोतर्फको मिडिया भने एकदमै गुमनाम छ, जानिजानी बेबकुफी देखाइरहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु

Ramro chha Keep it Up - prakash basnet


अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang