शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
भेटवार्ता
Feb 20, 2015
हामीसँग अझै दुई अर्ब ८५ करोड खराब कर्जा छ
शुक्रबार, फागुन ८, २०७१
अशोक शेरचन
प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लिमिटेड


– अघिल्लो त्रैमाससम्म पनि घाटामा गएको बैंक दोस्रो त्रैमासमा आउँदा आधा अर्बभन्दा बढी नाफामा गयो । तीन महिनामै यत्रो फड्को, चमत्कार भएन ?
भदौ ३० गते मर्जर सकियो । एक महिनाभित्रै पहिलो त्रैमास आयो । त्यो बेला कमिटमेन्ट गरिएका कतिपय ऋणहरू उठेनन् । त्यसपछाडिको त्रैमासमा जुन किसिमले ऋणीहरूलाई प्रस्ताव ग¥यौं, त्यसले बजारमा राम्रो सन्देश दियो । उहाँहरूले पनि सकेसम्म हाम्रो बैंकको अवस्थालाई हेरेर र आफ्नो भविष्यलाई पनि हेरेर सहयोग गर्न सकिन्छ कि भनेर सम्पर्कमा आउनुभयो । हामीले पनि उहाँहरूलाई सहयोग गर्दै गयौं । र, यो क्रममा केही जग्गाजमिनहरू बिक्री गर्न सक्यौं । शत प्रतिशत प्रोभिजनिङ गरिएका ऋण खाताहरूको राइट ब्याक हुँदै गयो । यही कारणले भन्नुपर्छ छोटो अवधिमा अर्थात् तीन महिनाको अवधिमा हामीले राम्रो नाफासहित बैंकलाई लिएर आउन सक्यौं । सुरुवातमा ऋण उठ्न केही समय लाग्छ कि भन्ने आशंका पनि थियो । तर, ग्राहकहरूले जुन किसिमले हामीलाई सहयोग गरे, जुन किसिमको हाम्रो एप्रोच भयो त्यसले रिजल्ट अलि छिटो आएको हो । एउटा बिन्दुमा, एउटा समयमा गएर यो हुनेवाला नै थियो ।

– नाफा त राम्रो देखियो तर खराब कर्जाको अनुपात अझै पनि १०/१२ प्रतिशत माथि नै छ हैन ?
खराब कर्जा १० प्रतिशतमा झरेको छ । अघिल्लो त्रैमासमा १६ प्रतिशतजति थियो । हामीसँग अझ पनि दुई अर्ब ८५ करोडजति खराब कर्जा छ । यसमा एक अर्बजति उठाउँछौं । बाँकी रहेको अर्काे एक अर्ब ८५ करोडजति उठाउन अलिकति गाह्रो हुन्छ । किनभने त्यसको धितो र त्योसँग सम्बन्धित ऋणीहरू कमजोर पृष्ठभूमिको, सम्पर्कमा आउन नखोज्ने र उहाँहरूसँगबाट सजिलै उठाउन सकिने खालका कर्जाहरू छैनन् । त्यसलाई हामीले ऋण असुली न्यायाधिकरणमा मुद्दा हाल्नुपर्ने हुन सक्छ । तर पनि हामी सकारात्मक छौं । रिकभरीका साथसाथै व्यवसायको आकारलाई पनि बढाएका कारण यसपालि राम्रो रिजल्ट आएको हो । अर्काे वर्षको असोजसम्ममा अन्य कुनै संस्थासँग मर्जर तथा एक्विजिसन हुन सकेन भने खराब कर्जा पाँच प्रतिशतभन्दा तल ल्याइसकेका हुन्छौं ।

– बिग्रिएका ऋणहरू मर्जरसँगै जोडिएर आएका त होलान् ?
मर्जर भएका संस्थाहरूमध्ये पनि किष्टको ऋण धेरै बिग्रिएको हो । अरू संस्थाको बिग्रिएको ऋण नगन्य नै छ । ठूलो रकम र व्याकअप कमजोर भनेको किष्टकै कर्जाहरू छन् । जसको सरसर्ती अध्ययन गर्दा ती कर्जा उठाउन केही गाह्रो महसुस भइरहेको छ । सम्पर्क बाहिर छन् धेरै ऋणीहरू । कमजोर स्तरका ऋणीहरू छन्, जसलाई अरूले नै प्रयोग गरेर ऋण लिएको देखिन्छ । कतिपयलाई ऋण लिएको थाहा पनि छैन । उनीहरूको अवस्था हेर्दा कर्जा उठ्ने सम्भावना न्यून देखिन्छ । किष्टलाई छाड्ने हो भने खराब कर्जा अनुपात एक प्रतिशतभन्दा कम हुन्छ ।

– विगतमा हकप्रद सेयरको कुरा आएको थियो । अब बैंकले नाफा कमाउन थाल्यो, पूँजी त अब नाफाबाटै बढाउने होला नि ?
होइन, हामी हकप्रद निष्काशन गर्छाैं । बरू थपेर निकाल्छौं । १० प्रतिशत घोषणा गरेका थियौं, त्यो ३२ करोडजतिको हुन्थ्यो । ग्राण्ड बैंकसँग एक्विजिसन भयो भने १० लाई बढाएर २० प्रतिशत हकप्रद जारी गर्छाैं । किनभने ग्राण्ड बैंक जोडियो भने १० प्रतिशतमा झरेको खराब कर्जा फेरि १५÷१६ प्रतिशत पुग्छ । जुन रूपमा हामीले व्यवसाय बढाउने सोचिरहेका छौं, एक्विजिसनका कारण त्यो बढाउन सकिँदैन, पूँजीको कारणले गर्दा । त्यही भएर १० मा अर्काे १० प्रतिशत जोडेर ६४ करोडजतिको हकप्रद सेयर जारी गर्छाैं । यसबाट अर्काे आर्थिक वर्षमा पनि हामीलाई व्यवसाय विस्तार गर्न गाह्रो हुँदैन । हाम्रो खर्चलाई धान्ने, हाम्रो फिगरलाई राम्रो देखाउने भनेको व्यवसाय बढाएर नै हो । विस्तारै विस्तारै रिकभरीबाट आउने आम्दानीको फिगर घट्दै जान्छ । त्यसबेला व्यवसाय बढाउनुपर्ने नै हुन्छ । अहिले ४० अर्बको वासलात पुगेको छ । सबै खर्च धानेर प्रतिफल दिनका लागि हामीले वासलातको आकार ६० अर्ब पु¥याउनुपर्छ । त्यसका लागि पूँजी बढाउनुपर्ने भएको हो ।

– अहिले नै राम्रो रिजल्ट आइरहेको छ । अहिलेको अवस्थामा बैंकलाई अझ राम्रो बनाउनुपर्नेमा अर्काे समस्यामा रहेको संस्थालाई लिँदै हुनुहुन्छ । अहिले भएकै संस्थालाई राम्रो बनाउनुपर्ने बेला होइन र, कि मर्जर र एक्विजिसनमा लिडर हुने चाहना हो ?
लिडर हुने चाहना सबैको हुन्छ, आ–आफ्नो फिल्डमा । अर्काे कुरा भनेको आफूलाई एउटा बिन्दुमा पु¥याउनुपर्ने थियो, त्यहाँ हामी पुगिसकेको अवस्था हो । तर पनि अहिले जुन खालको अवसर आयो, त्यो चुनौती पनि हो । तर, हामीले यसलाई अवसरका रूपमा लिएका छौं । हामीले जुन खालका समस्याहरूलाई फेस गरेर मर्जरलाई टुंग्याई सक्दानसक्दै अर्काे एउटा संस्थालाई लिएर आउँदा त्यसबाट केही पाउँछौं भन्ने हाम्रो विश्वास छ । समस्या सानो भए पनि ठूलो भए पनि, एउटाको भए पनि धेरै वटाको भए पनि एउटै खालको हो । ती पहिचान भइसकेका समस्याहरू हुन् । त्यसका लागि गर्नुपर्ने उपचारहरू हामीले थाहा पाइसकेका छौं । त्यसलाई कसरी व्यवस्थापन गर्ने र त्यसबाट कसरी पार पाउने भन्ने कुराहरू थाहा भइसकेको हो ।
एक्विजिसनका जुन कुराहरू भइरहेको छ, त्यो हाम्रोभन्दा पनि ग्राण्ड बैंकका तर्फबाट आएको कुरा हो । उहाँहरूले बिनाकुनै सर्त हामीलाई लिइदिनुप¥यो भन्नुभयोे । दुई वर्षअगाडि पनि उहाँहरूसँग हाम्रो कुराकानी भएको थियो । त्यो बेलामा अन्य धेरै कुराहरू आएका थिए, यसपालि भने कन्डिसन लेस कुरा आएकाले त्यसलाई स्वीकार गरेका हौं । यो नै अन्त्य हो भन्ने पनि होइन । डिडिए गर्दै जाँदाखेरी वा केही समयपश्चात् यो ब्रेक हुन पनि सक्छ । डिडिएले एकदमै नराम्रो फिगर लिएर आयो भने एक्विजिसन ब्रेक हुन सक्छ । यो नै अन्तिम निर्णय होइन । तर, हामी विश्वस्त केमा छांै भने यसलाई पूरा गरेर छाड्छौं । यसले गर्दा सुदृढीकरणमा मात्रै लाग्ने समय केही पर सरेको हो । समग्रमा भन्दा ग्राण्डलाई पनि जोडिसकेपछि जुन किसिमको रिजल्ट आउनेछ, त्यो फेरि उदाहरणका रूपमै आउनेछ ।

– तपाईहरूले ग्राण्ड सस्तोमा भेटेर पनि होला नि, बिनाकुनै मिहिनेत ग्राण्डले बनाएको सम्पत्तिलाई प्राप्त गर्न सकिन्छ भनेर पनि एक्विजिसन गर्न लाग्नुभएको होला ?
एकदमै हो । उहाँहरूको फिगर हेर्दाखेरी के देखिन्छ भने २८ प्रतिशतजति खराब कर्जामा गएको छ । शत प्रतिशत नोक्सानी व्यवस्था भएका ऋणहरू १२ प्रतिशतजति छन् । १५ अर्बजतिको ऋणको आकारमा डेढ अर्बजतिको पूर्णरूपमा नोक्सानी व्यवस्था भएको देखिन्छ । अर्काे १० प्रतिशत ऋणको ५० प्रतिशत प्रोभिजनिङ भएको देखिन्छ । बाँकी ऋणको २५ प्रतिशतमात्र नोक्सानी व्यवस्था गरिएको छ । ७२ प्रतिशत त असल कर्जा नै हो । हाम्रातर्फबाट शत प्रतिशत नोक्सानी व्यवस्थापन गरिएको कर्जालाई यथावत् रहन दिएर २५ र ५० प्रतिशतलाई मात्र हामीले उठाउन सक्यौं भने पनि थप नोक्सानी व्यवस्थापनका लागि रकम छुट्याउनुपर्दैन । शत प्रतिशतमा गएको ऋणहरू जति पनि उठ्छ त्यो हाम्रा लागि नाफा हो । कुनै पनि जोखिमबिनाको नाफा हो । ग्राण्डलाई तिर्ने भनिएको मूल्य पनि रिजनेबल हो । त्यो पैसा रिजर्भमा गएर बस्ने भएकाले संस्था बलियो पनि बनाउँछ । अघि भनिएजस्तै रेडिमेड बिजिनेस हामीले पाउँछौं ।
हामीले बिग्रिएको संस्था खोज्दै हिँडेको होइन । हामीलाई ग्राण्ड बैंक आइलागेको हो । हामी राम्रो फिगर लिएर हिँड्न थालेका थियौं । तर, ग्राण्ड नकिन्दा पनि अब हामीलाई केही फरक पर्दैन । तर, सम्बन्ध पनि हो । उहाँहरू र हाम्रो सम्बन्धका कारण हामी अगाडि बढेका हौं । अलिकति चिनेजानेको वा सेफ ह्यान्डमा जिम्मा लगाउन पाइयो भने हाम्रो भविष्य पनि सुरक्षित हुन्छ भन्ने चाहना लगानीकर्ताको हँुदोरहेछ । दुवै संस्थाका लगानीकर्ताको सम्बन्धका कारणले यो जोडिन आएको हो । हामी खोज्दै हिँडेको होइन ।

– ग्राण्ड बैंकसँगै तपाईहरूले पूँजी लिएर आउनुहुन्छ, त्योसँगै दायित्व पनि लिएर आउनुहुन्छ, कर्मचारी भयो, उच्च व्यवस्थापन भयो, गुडविलको कुरा आउँछ । यो सबै एकैचोटि आउँदा भोलि समस्या पनि हुन सक्ला नि ?

त्यो सम्भावना पनि छ । त्यही कारण हामीले राष्ट्र बैंकको फिडब्याक वा उसको रेस्पोन्स कस्तो हुन्छ भनेर हेरिरहेका छौं । यदि दुई संस्थाका फिगरहरू जोडेर हेर्दा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बाहिर जान्छ भने पक्का पनि राष्ट्र बैंकले एक्विजिसनका लागि स्वीकृति दिँदैन । त्यो सम्भावना यथावत् छ । उहाँहरूले भनेको पनि त्यही छ । राम्रो गर्दै हुनुहुन्छ तर क्राइटएरिया चाहिँ मिट गर्नुपर्छ है भन्नुभएको छ । राम्रो बन्ने क्रममा रहेको संस्था ग्राण्डका कारणले फेरि बिग्रिने अवस्थामा नपुगोस् भन्ने मनसाय राष्ट्र बैंकको पनि छ, हाम्रो पनि छ र स्टेकहोल्डरको पनि छ । तर पनि ग्राण्डको सबै फिगर र फ्याक्टलाई हेर्दा त्यस्तो अवस्था आउँदैन । त्यहाँ भएका ग्राहक हामीले चिनेका र उनीहरूसँग पैसा उठाउन सक्छौं भन्ने आत्मविश्वास भएकै कारण प्रक्रिया अगाडि बढेको हो । त्यहाँका चार÷पाँच जना ग्राहक ट्याब गर्न सके तुरुन्तै अवस्था सुध्रिन सक्ने देखिएको छ । चुनौती, असर नराम्रो पर्न पनि सक्छ । तर, यसको मात्राभन्दा सम्भावनाको मात्रा निकै बढी देखिएको छ । जहाँसम्म हामीलाई लाग्छ नकारात्मक असर पर्दैन ।

– ग्राहकको कुरा भयो, बोर्डको कुरा भयो तर त्यो बैंकसँगसँगै त्यहाँबाट दुई अढाई सय कर्मचारी पनि आउँछन्, तिनीहरूको व्यवस्थापन कसरी हुन्छ, शाखाहरू पनि दोहोरिन्छन्, कसरी मिलाउनुहुन्छ ?

अघिल्लो पटकको मर्जरमा पनि एकजना कर्मचारी ननिकालीकनै व्यवस्थापन गरेका थियौं । जुधेका शाखाहरू पनि रिलोकेट गरेका थियौं । हाम्रो बिजिनेस हवहरू घट्दैन बढ्दै जान्छ । त्यही भएर हामीलाई कर्मचारीको आवश्यकता परिहाल्छ । त्यहीं भएका कर्मचारीहरू अनुभवी हुन्छन्, करिअर बनाउनुपर्ने खालका हुन्छन् । कर्मचारीलाई उपयोग कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो । उपयोग अधिकतम् भयो भने त्यसको उत्पादकत्व बढेर जान्छ । हामीले पाएको अनुभव के भने कामको प्रेसर बढाउन सकेको अवस्थामा सबै कर्मचारीहरूले राम्रो रिजल्ट दिन्छन् । जस्तो दोस्रो क्वाटरमा हामीले कर्जा लगानी २३ अर्बबाट २७ अर्ब पु¥यायौं । तीन अर्ब ऋण बढ्दा कामको प्रेसर सबै शाखामा बराबर भयो । त्यसले गर्दा सबै व्यस्त भए । व्यस्त हुनु भनेको सबैले काम राम्ररी गर्नु हो । नयाँ संस्था लिएपछि पनि यस्तो वातावरण सिर्जना गर्न सक्छौं । हामीसँग त्यो खालका व्यापारहरू पाइपलाइनमा छन्, हातमा छन् । त्यसमा हामीले उनीहरूलाई प्रयोग गर्नेमात्र हो ।

– बोर्ड, नाम, मूल्य केही पनि सर्त छैन तर कर्मचारी सर्त छ नि ?

कर्मचारीमा पनि ठूलो सर्त छैन । चार वर्ष वा पाँच वर्ष पुगेकालाई बढुवा दिन्छौं भन्नुभएको छ, त्यसलाई हामीले सकारात्मकरूपमै लिएका छौं । उहाँहरूले खाइपाई आएको तलबमा घट्ने भन्ने हुँदैन । उहाँहरूले पाएको तलब सुविधा नै यहाँ क्यारी अन भएर आउने भएकाले त्यति ठूलो गुनासोे रहला भन्ने हामीलाई लाग्दैन ।

– नेपाल विकास बैंक, जो संस्थै खारेजीमा गइसकेको छ, त्यो चाहिँ किन खरिद गर्नुभएको ?
नेपाल विकास बैंक नेपालकै पहिलो विकास बैंक हो । यो धेरै राम्रो बैंक हुनुपर्नेमा बिग्रियो । ह्यान्डल गर्ने हात दुरूपयोगतिर लागेका कारण बिग्रिएको हो । यो संस्था सुरु गर्नुपर्छ भनेर सोच्नेमा हाम्रो बैंकको सञ्चालक समिति अध्यक्ष देवी भट्टचन पनि हुनुहुन्थ्यो । केही समय उहाँ सञ्चालक पनि हुनुहुन्थ्यो । त्यसैले त्यो संस्थाप्रति उहाँको केही इमोसनल एट्याचमेन्ट पनि होला । अर्काे कुरा नेपाल विकास बैंकसँग जोडिएका एलिमेन्टहरू, नेपाल राष्ट्र बैंक, सञ्चय कोष, भारतको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक अफ इन्डिया (आइडिबिआई) बैंक यसमा छन् । आइडिबिएल बैंकको त्यहाँ १५ प्रतिशत सेयर छ । यो बैंकलाई हामीले निरन्तरता दिन सकेको अवस्थामा त्यो हाम्रा लागि ठूलो उपलब्धि हुन्छ । त्यो सम्भावनालाई हामीले लिएर आउन सक्छौं कि भनेर नेपाल विकास बैंक खरिद गरेका हौं । त्यो किन्दा पनि हामीले घाटाको व्यापार गरेका छैनौं । त्यसबाट पनि नाफा हुने सम्भावना यथावत् छ । त्यहाँबाट जे आउँछ त्यो हाम्रो सेयरधनीका लागि राम्रै हुन्छ ।

– आइडिबिआई बैंकसँग पनि केही न केही कुराकानी भएको होला नि ?

आइडिबिआईसँग सामान्य कुराकानी भएका होलान्, सञ्चालक समितिको स्तरमा । तर, अफिसियल्ली कुराकानी भएको छैन । नेपाल विकास बैंकले चाहिँ गरेको हुन सक्छ । उसले सबै प्रोग्रेस रिपोर्टहरू पक्कै पठाएको छ । उनीहरूले पनि केही माइन्ड सेट गरिरहेका होलान् । राष्ट्र बैंकको स्वीकृति आएपछि हाम्रो तर्फबाट छलफल गर्न सुरु गर्छाैं । यसको रिजल्ट दुई तीन महिनाभित्रै आउँछ ।

– ग्राण्ड पनि जोडिने र सबै समस्याहरू पनि हल भएर जाने भएपछि लगानीकर्ताले प्रभु बैंकबाट कति समयपछि प्रतिफलको आशा गर्न सक्छन् ?

हामीले सोचेको दुई वर्ष हो । एक वर्ष वित्यो । ग्राण्ड बैंक नजोडिए पनि एक वर्षपछि प्रतिफल वितरण गर्छाैं ।

– तपाईंको भनाइको आशय कस्तो देखियो भने ग्राण्ड आए ठीकै छ नआए पनि केही घाटा छैन, तपाईंहरू ग्राण्ड किन्न गम्भीर हो कि होइन ?
हुनैपर्छ भन्ने होइन । भए पनि ठीकै छ नभए पनि ठीकै छ । भएको अवस्थामा राम्रो । त्यही भएर हामीले सम्झौता गरेका हौं । भएन भने पनि केही छैन । हाम्रो तर्फबाट हामीले हात उठाउने भन्ने हुँदैन । डिडिए गर्दा अवस्था एकदमै खराब देखियो भने अलग कुरा हो । हामीलाई जुन तथ्यांक ग्राण्डले दिएको छ त्यो आधारमा हामी तयार छौं ।

– प्रभु बैंक ठूलो भइसक्यो अब । अरू बैंकका सहायक कम्पनीहरू छन् । तपाईहरूलाई पनि त आम्दानीको स्रोत बढाउन अन्य संस्था चाहिएला ?

प्रभु ग्रुपको तर्फबाट आर्थिक क्षेत्रमा मनि ट्रान्सफर सञ्चालनमा छ । बीमा कम्पनी छ, बैंक पनि छ । अब हामी प्रभु बैंकको सहायक कम्पनीका रूपमा लघुवित्त विकास बैंक सञ्चालन गर्ने तयारीमा छौं । राष्ट्र बैंकमा गएका छौं, त्यहाँबाट स्वीकृति आएपछि हामी सञ्चालन गर्छाै । र, पूँजी बजारमा पनि नयाँ कम्पनी लिएर आउँछौं । जसले सामूहिक लगानी कोष र मर्चेन्ट बैंकको काम गर्नेछ ।

– तपाईंहरूले मर्ज गर्नुअघि यो संस्था किष्ट बैंक थियो । किष्ट भन्नेबित्तिकै यो संस्थाको अधिक लगानी घरजग्गामा केन्द्रित छ भन्ने बुझाइ हुन्थ्यो । तपाईहरूले मर्ज गरेपछि रियलस्टेट छाड्नुभयो । अब तपाईंहरूको लगानीको दिशा कतातिर जान्छ ?

यसपालिको दोस्रो त्रैमासको रिजल्ट हेर्दा रियलस्टेट कर्जा ह्वात्तै घटेको छ । बढेको उत्पादनमूलक क्षेत्रमा देखिन्छ । जस्तो औद्योगिक क्षेत्रमा हामी ठूलो रूपमा छिरेका छौं । जलविद्युत्मा हाम्रो पाँच अर्बको प्रतिबद्धता गइसकेको छ । सिमेन्ट, स्टिल, होटल, आयात तथा निर्यातको व्यापारमा हामीले हात हालेका छौं । यो तीन महिनाका अवधिमा तीन अर्ब रुपैयाँ बढेको कारण पनि यही हो ।

यसपालि हामीले ठूला घरानाहरूलाई पनि प्रभु बैंकमा छिराएका छौं । स्थापित भनिएका सबै खाले घरानाहरू प्रभु बैंकमा आएका छन् । कृषि क्षेत्रमा पनि हामी त्यसैगरी लागेका छौं । अर्काे क्षेत्र आवासीय कर्जा (कन्जुमर लेन्डिङ) मा पनि हामीले ठूलो लगानी गरेका छौं । तीन महिनामा होम लोनमा ६५ करोड कर्जा लगानी भइसकेको छ । ठूला कर्पाेरेट हाउसलाई व्याज दरमा प्रतिस्पर्धा गरेर आकर्षित ग¥यौं, मध्यमस्तरका लागि अटो र होम लोन कर्जा लिएर आयौं । कृषि कर्जामा पनि हामी त्यसैगरी लागेका छौं । जलविद्युत्मा हामी २५ वटा आयोजनामा लगानी गर्दैछौं । काबेली, तल्लो सोलुलगायतका नमुना आयोजनाहरूमा हामीले लगानी गरेका छौं ।

– एउटा फरक प्रश्न, बैंकका प्रमुख कार्यकारी भनेको कपाल फुलेका, २०÷२५ वर्षको लामो अनुभव बटुलेका हुन्छन् भन्ने आमसोचाइ हुन्थ्यो । तर, तपाईं त वाणिज्य बैंकहरूमा सबैभन्दा कान्छो प्रमुख कार्यकारी होइन ?

यो आमधारण भयो । हामीबीचमा रहेको र हामीले मान्दै आएको धारणा हो यो । तर, विस्तारै समाजले परिवर्तन खोज्छ । परिवर्तन हामीले खोजिरहेका त हुन्छौं तर सजिलै स्वीकार्न भने सक्दैनौं । परिवर्तनलाई स्वीकार्नुपर्छ । अहिलेको समय भनेको विश्वव्यापीरूपमै अलिकति योङ, अलिकति क्रियटिभ, इन्नोभेटिभ र अलिकति एडप्ट गर्न सकिने स्वभाव भएकाहरूले नै संस्थाहरू हाँकिरहेको देखिन्छ । नेपालमा पनि केही समयदेखि सुरुवात भइसकेको छ । त्यही सुरुवातकै स्टेप म पनि हो ।

अहिले जति पनि ठाउँमा नयाँ नियुक्ति गर्न खोजिँदैछ, त्यहाँ अलिकति क्रियटिभ र योङ नै गर्न खोजिरहनुभएको छ । यो आवश्यक पनि छ । यसले आमधारणा पनि परिवर्तन गर्छ । अन्य क्षेत्रहरूमा युवालाई नेतृत्व दिने क्रम सुरु भइसकेको छ । प्रविधिको क्षेत्रमा, व्यापारिक घराना, पर्यटन क्षेत्रमा सुरु भइसक्यो । बैंकिङमा पनि विस्तारै यो देखिँदैछ । नेपाली बैंकबाट रिटायर्डको क्रम भर्खर सुरु भएकाले नयाँ अनुहारहरूले नेतृत्व पाउँदै जान थालेका छन् । यो एउटा चक्र नै हो ।
आर्थिकबजार मासिकबाट 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang