शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
विचार
Aug 07, 2015
संविधान राष्ट्र सुहाउँदो कि पार्टी सुहाउँदो ?
शुक्रबार, श्रावन २२, २०७२
संविधान नेपालजस्तो कि पार्टीजस्तो ? यो प्रश्न यसकारण पनि महत्वपूर्ण छ कि संविधान जारी गर्न चार पार्टी हुर्तुरिएर लागिपरेका छन् । ८ वर्ष खेर फाल्ने दलहरु यति हतारमा किन छन् ? यो गम्भीर प्रश्न हो । संविधानका लागि संविधान आउनु र शासकको मुखुण्डोमात्र फेर्नु लोकतन्त्र हुनसक्दैन । लोकतन्त्र संविधानमा कुट कुट भरिनुपर्छ, लोकतन्त्र लोकका घर, आँगन र तिनका अनुहारमा पनि देखिनुपर्छ । लोकतन्त्र उज्यालो हो, लोकतन्त्रको उज्यालो सूर्यको किरणजस्तै समानरुपमा फैलिनका लागि संविधान लोकव्यापी र लोकग्राह्य रुपमा आउनुपर्छ । संविधानमा कुनै राजनीतिक वादको ग्रहण लाग्नुहुन्न ।

संविधान कस्तो ? झुस्स सेता दाह्री भएका बृद्ध सुशील कोइरालाजस्तो कि बिरामी केपी ओलीजस्तो ?संविधान कस्तो ? नेपाली कांग्रेसजस्तो कि एमाले, एमाओवादी, फोरम गणतान्त्रिकजस्तो ?संविधान कस्तो ? सत्ता परिवर्तनकारीजस्तो कि देशको भाग्य र भविष्य निर्माणकारीजस्तो ?संविधान कस्तो ? द्वन्द्व टुंग्याउने दिगो शान्तिजस्तो कि बिबाद बढाउने आगोको फिलिङ्गोजस्तो ?

संविधान घोषणा हुनु भनेको २०६४ को अन्तरिम संविधानलाई नेपालको संविधान २०७२ ले बिस्थापन गर्नुमात्र होइन । संविधानमा देश देखिनुपर्छ । देशको नीति, पद्धति लेखिनुपर्छ, बिधिको शासन र समानताको सन्देश बोकेको हुनुपर्छ र आमजनताको जीवनलाई सहज र सरल बनाउने राज्य छ भन्ने काइदा र फाइदा उल्लेख भएको हुनुपर्छ ।

संविधानमा पार्टी देखिने, देश नदेखिने हुनुहुन्न । संविधानमा नेता देखिने, लोक नदेखिने पनि हुनुहुन्न । जनता छन् र देश छ, देश छ र दल छन् । अर्थात् संविधानमा नेपाल र नेपाली जिवन्त छन् भन्ने प्रष्टै देखिनुपर्छ । त्यस्तो संविधान कागजको खोस्टो होइन, राष्ट्रिय जीवनका प्रत्येक पलमा देखिनसक्छ । जीवनमा देखिने संविधान लेखिनुपर्छ । लेखिएको संविधान राष्ट्रिय जीवनमार्ग बन्नसकोस् ।

कृष्णप्रसाद अधिकारीको हत्या भयो । उनका आमाबाबु नन्दप्रसाद र गंगामायाँले निकै लामो आमरण अनसन बसे । बाबु नन्दप्रसादले अनसन बस्दै ज्यान फाले । उनको लास झण्डै ६ महिनादेखि टिचिङ हस्पिटलको मूर्दाघरमा सडिरहेको छ । गंगामायाँ आज पनि अनसनमा छिन् र सरकार तथा अधिकारकर्मीसँग न्याय नलिइकन मलाई भेट्न नआउनु, म अनसनमै ज्यान फालिदिन्छु भनेर ट्रमा सेन्टरमा निराहार बसेकी छिन् । ‘न्याय हुनुपर्छ’ भन्नेसम्मको आँट नयाँ संविधान बनाउन तम्सेका कुनै दल वा नेताले गर्न सकेनन्, तिनीहरुबाट कति अपेक्षा गर्न सकिएला र ? हुन त जनयुद्धकालदेखि वर्तमान कालखण्डसम्म दण्डहीनता र पार्टी ज्यादतिका अनेक उदाहरण र उद्धरणहरु साक्षी छन्, नेताहरुमा राजनेता बन्ने ल्याकत नै छैन । तैपनि हामी बिकल्पहीन छौं र यिनै दलहरुभित्रबाट सही कामको अपेक्षा गरिरहेका छों । हामी प्रतिक्षारत छौं, एक दिन त यिनीहरुमा बुद्धि बंगारो पलाउला, एकदिन त यिनले राजनीतिक धर्म निभाउलान् ?

विवेक राजनीतिको प्राण हो । राजनीतिमा विद्यमान विवेकले राज्यलाई दण्डहीनताबाट जोगाउँछ, प्रशासनलगायतका सबै क्षेत्रलाई बिबेकशील बन्न मार्गदर्शन पनि गर्छ । बिबेक नभएको राजनीतिले सत्ता र सिंहदरवारमात्र देख्छ, उसका लागि लोभ र स्वार्थ नै जीवनको अन्तिम अभिष्ट बन्नेगर्छ । सही र गलतका विषयमा नेताहरुको विचार र बोलीमा पटकैपिच्छे बिचलन आएको देखिन्छ । लोकतन्त्रमा यो डरलाग्दो प्रसङ्ग हो । किनभने सत्तालोभमा राजनीतिक दलका नेताहरुले अनेक सम्झौता गर्दै आएका छन् । जब सिद्धान्त सम्झौतामा बिलिन हुनथाल्छ, तव लोकतन्त्रको गरिमा, महिमा र इज्जतको मूल्य कौडीका भाउमा झर्छ ।

हो, जनयुद्ध, जनआन्दोलन एउटा लक्ष्य लिएर भएका राजनीतिक आन्दोलन थिए । ती संघर्षले सत्ताको परिवर्तन भयो, तिनलाई सत्ता प्राप्ति पनि भयो । त्यसपछि पनि निरन्तर सम्झौता र सम्झौता मात्र किन भइरहेको छ ? सत्ताको भागबण्डामा सिमित देखिएका सम्झौताहरुको औचित्य शिद्ध हुँदैनन् । किनकि ती सम्झौताहरु गलत हुन् । गलत सम्झौताले देश र दुनियाँलाई पीडामात्र दिन्छ, सुखानुभूति दिदैन । सन्तोष दिदैन ।

कांग्रेसको जन्मजात सिद्धान्त के हो ? त्यसमा पार्टीले कहिले परिवर्तन गर्ने निर्णय ग¥यो ?
एमालेको घोषित नीति के हो ? एमाले त्यही नीतिमा चलिरहेको छ ?
एमाओवादीको पार्टी लाइन के हो ? एमाओवादी पार्टी लाइनमा छ कि नेता लाइनमा चलिरहेको छ ?
अरु भुरे टाकुरे पार्टीहरुमा मौसमअनुसारको ट्यूनिक देखियो भनेर आपत्ति किन उठाइरहनु र ?

वीपी बिते, कांग्रेस ज्यूँदै थियो । जीपीको देहावसान भयो, कांग्रेस पार्टी कायमै छ । पुष्पलाल, मदन भण्डारी, मनमोहन बिते पनि एमाले छ, एमालेका नेताहरुले एमाले सम्हालिरहेका छन् । प्रचण्ड छन् र एमाओवादी पनि तेस्रो ठूलो दलका रुपमा कार्यरत नै छ । जब यी पार्टी छन् भने यिनले आफ्ना पार्टीनीति, पार्टी घोषणापत्रलाई आफ्नो घोषित मार्ग मानेर हिड्नुपर्ने होइन र ? किन विभिन्न दलवीच सम्झौताका नजीरहरु स्थापित गर्दै वर्तमान पुस्तालाई सम्झौता पुस्ता बनाइरहेका छन् ? सम्झौता कहिले कहिले अपरिहार्य हुनसक्छ, सर्वकालिक सम्झौतामा चलिरहने ? निष्ठा, नैतिकता र सिद्धान्तलाई कुल्चेर हिडिरहने ?

राजनीतिक दलहरुवीच अनेक मतभेद हुनसक्छन् । सत्ताप्राप्तिको ग्राह्य, अग्राह्य तरिकामा भतभेद, मनभेद किन छैन ? जसरी पनि सत्ता र शक्ति प्राप्त गर्नु वर्तमान राजनीतिको मूल अभिष्ट बन्नु उचित छ ? यो प्रश्न किन पनि सामयिक छ भने चार दलले १६ बुँदे सहमति गरेर संविधानको खाका तैयार पारे । त्यसैलाई संविधानसभाबाट जनताको रायसुझावका लागि सार्वजनिक गरे । त्यही खाकालाई संविधानका रुपमा जारी गर्ने भनेर वार्ताको बिस्कुन सुकाएर चार दल कोठा भित्र–बाहिर गरिरहेका छन् । कहिले कुरा मिल्यो भन्छन्, कहिले कुरा बाझ्यो भन्छन् । मिल्यो मिल्यो, मिलेन मिलेनको भ्रमजालले जनताका आँखा, कान टट्टाइसके । ०६५ सालदेखिको यो क्रम ०७२ साल साउनसम्म पनि जारी छ । ९० प्रतिशत सहमति भएको उहिल्यै, बाँकी १० प्रतिशत सहमति खोज्न यत्रो महाभारत ?

र, ६ सय १ जनाको संविधानसभामा संविधानका अन्तरवस्तुमा बृहद छलफल गराउन चार ठूला दल तैयार छैनन् । आफैवीच पहिला सम्झौता गर्ने अनि त्यसैलाई संविधानसभामा छिराएर पास गर्ने यिनको ध्येय रहेको छ ।

संविधान आउनैपर्छ । तर प्रश्न छ– संविधान कस्तो ?
चार दलले चाहेजस्तो कि देशको आवश्यकताजस्तो ?
चार दल देखिने कि सिंगो मुलुक लेखिने ?
चार ठूला नेता खुश पार्ने कि सिंगो मुलुकले अपनत्वको भाव राख्नसक्ने ?
पूर्ण संविधान कि अपूर्ण मुर्कट्टाजस्तो ?
१ सय २६ जाति र ५४ हजार माइलको नेपालको चित्र अंकित संविधान कि अमूर्तशैलीको संविधान ?
मानवाधिकारसहितको संविधान कि द्वन्द्व र दण्डहीनता बढाउने संविधान ?
ठूला दलवीच सत्ता भागबण्डा मिलाउने संविधान कि आमजनताको हकाधिकार, समभाव सुरक्षित भएको संविधान ?
प्रश्न अनेक उठिरहेका छन् । किन उठिरहेका छन् भने संविधान घोषणा गरेको हप्ता दिनमा सुशील कोइरालाको ठाउँ केपी ओलीले पाउनेछन् । महिना दिनभित्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखमा यिनै चार दलवीच भित्री भागबण्डाअनुसार निर्वाचनको नाटक मञ्चन हुनेछ । नाटकको मञ्च सजाउनका लागि संविधान आउने वातावरण आफैमा देशको दुर्भाग्य हो, संविधानसभाको अपमान हो । तैपनि संविधानसभाका कुनै सभासद मुख खोल्दैनन् । किनभने तिनको मुखमा पार्टी नेताले ‘चुप लागेर बस’ भन्ने ठेडी कोचिदिएका छन् ।

संविधान देश र देशवासीको सम्पत्ति बनोस् । यसकारण यही बेला हो संविधान निर्माताहरुलाई खबरदारी गर्ने । संविधानमा जीवन होस्, जनजीवनमा संविधान देखियोस्, शान्तिव्यवस्था र सुशासनको मार्ग प्रशस्त गरोस् । यसका लागि खबरदारी गर्ने सही समय यही हो । संविधानले संक्रमणलाई लुतो फालेजसरी फालोस्, अस्थिरताको अन्त्य गरोस्, शान्ति र प्रगतिको ढोका खोलोस् । संविधान निर्माणमा पवित्र प्रयास भयो भने भूकम्पको विपदलाई पुननिर्माण मात्र होइन नयाँ नेपाल निर्माण पनि सहजै गर्न सकिन्छ । संविधानमा देश र जनताप्रतिको जिम्मेवारीको, कर्तव्यवोधको पसिना परेन भने न संविधान दिगो हुनेछ, न देशको प्रगति नै सम्भव हुनेछ ।

राजनीति अपराधिकरण बढाउने, चोख्याउने गौदान बन्नुहुन्न । राजनीति अवाञ्छित र अयोग्य व्यक्तिलाई बरदान दिने माध्यम बन्नाले देशभित्र न सक्षम बस्न सक्ने भए, न योग्य युवाहरु टिक्ने भए । राजनीतिक निहीत स्वार्थीपन नै नयाँ नेपाल निर्माणको तगारो हो । संविधान निर्माण फास्ट ट्य्राकको नाममा नेताहरुले जेजस्तो हर्कतहरु देखाइरहेका छन्, त्यसको विश्लेषण गर्नेहरुले अनेक आशंका गर्ने ठाउँ पाएका छन् । संविधान निर्माणको यो चरण साह्रै कष्टकर चरण बन्दैछ । कतै बिद्रोह, बिस्फोट वा बिध्वंश हुने हो कि भन्ने त्रासदी पनि फैलिन थालिसकेको छ । संविधानमा कसैले धर्म खोजिरहेका छन्, कसैले जाति, कसैले प्रदेशमा पहिचान, कसैले एक वा अखण्ड प्रदेश । संविधानमा एक नेपाल र एक नेपाली हुनुपर्छ भन्ने आवाज मत्थर मत्थर सुनिन्छ । दलहरुमा राष्ट्रप्रतिको लगाव किन हो, पत्थर पत्थर देखिदैछ ?

संविधान संविधानका लागि बन्नुहुन्न । संविधान देशका लागि बन्नुपर्छ । यही उद्देश्यका लागि यक्ष प्रश्न उठेको हो– संविधान कस्तो ? संविधान कसका लागि ? संविधान, संविधान भनेर हामीले दशक बिताउन लागिसक्यौं । बल्ल बल्ल संविधान जारी गर्ने साइत जुर्न लागेको छ, यो साइत शुभ होस् । सबैले स्वीकार गर्न लायक संविधान बनोस् । संविधान सत्ता फेर्ने साधनका रुपमा मात्र नआओस् ।

संविधान निर्माणको अन्तिम चरण सुरु भइसक्दा नागरिक समाज र अधिकारकर्मी किन हो मौन ब्रत बसेका छन् । किन यो बर्ग गरुडको छायाँमा परेको सर्पजस्तो लाटो लाटो देखिन्छ । तिनको सक्रियता र सहजकर्ताको भूमिका साह्रै खड्कियो है ।


प्रतिक्रियाका लागि
rajan2012karki@yahoo.com 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang