शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
विचार
Sep 15, 2015
साउदीबाट शव ल्याउनै गाह्रो
मंगलवार, भाद्र २९, २०७२
काठमाडौं । बाँके, उढरापुर–२, शान्तिनगरका ६६ वर्षीय सेते बस्नेत दुई सातायता अर्धचेत छन् । कमाउन साउदी अरब गएको छोरा नरबहादुरको मृत्युको खबर सुनेका सेते शव झिकाइदिन विभिन्न निकायमा हारगुहार गरिहेका छन् । तर, तीन महिनाअघि ज्यान गुमाएका नरबहादुरको शव ल्याउनेबारे अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन ।

शव झिकाइदिन जिल्ला र केन्द्रमा पहल गरेको बस्नेत परिवारलाई सबैले प्रयास गर्ने आश्वासन मात्र दिन्छन् । गएको जेठ २८ गते साउदीको मुसा नामक कम्पनीमा काम गर्दै गर्दा २४ वर्षीय नरबहादुरको हृदयाघातबाट मृत्यु भएको खबर पाएका सेते छोराको शव झिकाइदिन भेट्ने जति सबैलाई अनुनय गर्छन् ।

भदौ ११ गते एउटै कम्पनीमा काम गर्ने भारतीय साथीले मृत्युको खबर दिएपछि छोराको शव झिकाउन सबैसँग हारगुहार गरिरहेका छौं, नरबहादुरका मितभाइ हस्तबहादुर विकले भने, अस्पतालमा राखिएको शव निकाल्न १० हजार रियाल लाग्ने खबर छ । त्यत्रो रकम कहाँबाट ल्याउनु ?

हस्तबहादुरका अनुसार बस्नेत परिवारले त्यति धेरै रकम तिर्न सक्दैन । गत वर्ष भदौ १४ गते साउदीको लवाव वर्क कन्स्ट्रक्सन कम्पनीमा हेभी ड्राइभरको काम गर्न गएका नरबहादुरले तीन महिनामै उक्त कम्पनी छाडेका थिए । हस्तबहादुरका अनुसार झरना मेनपावर कम्पनीमार्फत साउदी गएका नरबहादुरले सम्झौता अनुसारको सुविधा नपाउँदा सुरुको कम्पनी छाडेका थिए । एक वर्ष साउदी बस्दा मेनपावरलाई बुझाएको १ लाख २५ हजार रुपैयाँ कमाउन नभ्याउँदै नरबहादुरको मृत्यु भएपछि परिवारमा एकातिर विदेश जाँदाको ऋण तिर्ने समस्या छ भने अर्कोतिर परिवारको गुजारा चलाउने खर्च कसरी जुटाउने भन्ने चिन्ता छ ।

साउदीमै पाँच महिनाअघि ज्यान गुमाएका खोटाङ, मालिङ–४ का टंकबहादुर खड्काको पनि अझैसम्म शव ल्याउन नसक्दा परिवारजन तनावमा छन् । शव झिकाइदिन परिवारका सदस्यले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड लगायत निकायमा निवेदन दिए पनि कुनै उपलब्धि हात नलागेको उनीहरुको दुःखेसो छ ।
जसरी पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढिरहेको छ, ठीक त्यसैगरी बिरानो माटोमा ज्यान गुमाउनेको ग्राफ पनि उकालो चढिरहेको छ । विदेशमा कमाउन गएका युवायुवतीको उतै निधन हुँदा सरकारले समयमै शव ल्याउने संयन्त्रको विकास गर्न नसक्दा कतिपयको लाश महिनौंसम्म उतै अड्किन्छ । यता मृतकका परिवार लामो समय तनाव झेल्न बाध्य हुन्छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार परिवारजनले पटकपटक ताकेता गर्दा पनि हाल खाडी र मलेसियाबाट एक दर्जनभन्दा बढी नेपालीको शव ल्याउन सकिएको छैन ।

‘हामीले मृतक रहेका मुलुकका राजदूतावाससँग लाश पठाइदिन सहयोग माग्ने हो,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, ‘अन्य देशको तुलनामा साउदीबाट शव झिकाउन अलि धेरै समय लाग्ने गरेको छ ।’

कतिपय अधिकारी भने साउदीले कामदार लैजाने बेला देखाएको उत्सकुता कामदार समस्यामा पर्दा र शव फर्काउने बेला नदेखाउने बताउँछन् । बोर्डका एक कर्मचारी भन्छन, ‘साउदीका कम्पनीमा नेपालका श्रमिकलाई जे गरे पनि हुन्छ भन्ने अहं छ कि जस्तो लाग्न थालेको छ ।’

घरेलु कामदारका रूपमा गएका नेपाली महिलालाई यौन शोषण तथा शारीरिक र मानसिक यातना दिने क्रम बढेपछि सरकारले साउदीमा महिला कामदार पठाउन रोक लगाएको थियो । साउदीका कम्पनीले नेपाली महिला रोकेको आक्रोश पुरुष कामदारमाथि पोख्न थालेको हो कि भन्ने संकेत देखिन थालेको पीडितको भनाइ छ ।

एक मेनपावर व्यवसायी पछिल्लो समय साउदीले नेपालबाट महिला कामदार माग गरिरहेको र महिला कामदार नपठाए पूरै श्रम बजार नै रोक्न सक्ने चेतावनी दिइरहेको बताउँछन् । रोजगार बोर्डका अनुसार साउदीबाहेक अन्य कुनै पनि देशमा ज्यान गुमाएका व्यक्तिको शव बढीमा एक महिनामा नेपाल आइपुग्छ । साउदीबाट आइपुग्न तीन महिनाभन्दा बढी लाग्छ । कतिपयको त शव घर पुग्न ८–९ महिना पनि लाग्ने बोर्डका कर्मचारी बताउँछन् ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु भए शव घरसम्म पुर्याेउने पहिलो दायित्व रोजगारदाताको हो । कतिपय रोजगारदाताले शव पठाउँदा खर्च हुने भएकाले त्यस्तो खर्च बचाउने लोभले आलटाल गर्ने व्यवसायी बताउँछन् । मेनपावर व्यवसायीका अनुसार साउदीले मनोमानी गरिरहनुको मुख्य कारण श्रम तथा रोजगार मन्त्रालयको लोसेपन हो ।

‘श्रम सम्झौता गर्दा नै नेपाली पक्ष दरिलो रूपमा प्रस्तुत हुने हो भने रोजगारदातालाई केही दबाब हुन्थ्यो,’ एक व्यवसायीले भने, ‘रोजगारदाताले जे भन्छन्, त्यही मान्दा नेपाली कामदार र तिनका परिवारलाई समस्या भइरहेको छ ।’ वैदिशक रोजगारीमा जानुपर्ने बाध्यता नेपालीलाई मात्र नभई रोजगारदातालाई पनि कामदार चाहिएकाले हो भन्ने बुझ्नुपर्ने पीडितको भनाइ छ ।

बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा २०६४ सालयता ४ हजार ४ सय १ को मृत्यु भएको छ । अहिलेसम्म सबभन्दा बढी मलेसियामा १५ सय ९२ नेपालीको मृत्यु भएको छ । कामदार बढी मर्ने अर्को देश साउदी अरब हो। त्यहाँ अहिलेसम्म ११ सय ८० नेपालीले ज्यान गुमाएका छन् । पछिल्लो दुई महिनामा पनि मलेसिया पुगेका नेपाली नै ज्याउन गुमाउनेमा अगाडि छन् । गत असार र साउनमा ५० नेपालीले मलेसियामा ज्यान गुमाएका छन् । यो अवधिमा साउदीमा ज्यान गुमाउने नेपाली ३५ छन् ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु भए बोर्डले पीडित परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउँछ । विदेशमा भएका मृत्युका घटना हेर्दा सबभन्दा बढी मृत्युको कारण मुटुरोग भेटिएको छ । बोर्डका अनुसार मुटुको समस्यासँगै प्राकृतिक कारणले ८ सय ६८ र सडक दुर्घटनामा ५ सय ८० जनाको निधन भएको तथ्यांक छ । २०६४ सालयता वैदेशिक रोजगारीमा रहेका ४ सय ६१ नेपालीले आत्महत्या गरेको बोर्डले जनायो । वैदेशिक रोजगारीमा रहँदा ज्यान गुमाएका व्यक्तिका परिवारलाई हालसम्म बोर्डले ६३ करोड १६ लाख रुपैयाँ राहत स्वरुप वितरण गरेको छ ।

(स्रोत : www.nagariknews.com बाट)



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang