शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
विचार
Mar 14, 2016
कांग्रेसको नयाँ नेतृत्व : नयाँ बोतलमा पुरानै रक्सी
सोमबार, चैत्र १, २०७२
एउटा बालक फागुन २० देखि २३ सम्मको वीचमा जन्मेको हुन्थ्यो भने उसको न्वारन गर्ने बेला हो चैत्र १ । तर देशको ठूलो, पूरानो र वैभवशाली प्रजातान्त्रिक भनिने दलको महाधिवशेन पुरा हुन शानदार दोस्रो साता लाग्नु कांग्रेसकै लागि लज्जा र शरमको बिषय मात्रै रहेन बरु दुनियाँ हसाउने राजनीतिक खुराक पनि बन्योे ।

जम्मा तीन दिने महाधिवेशनका लागि देशभरबाट राजधानीमा गोलबन्द भएका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु गाऊ फर्केर कुन कुन उधुम मच्चाईसके होलान तर उनीहरुले मतदान गरेका केन्द्रीय सदस्यहरुले भने बल्ल चैत्र १ गतेका दिनांकमा मात्रै सिन्दुर जात्रा गर्न पाए ।

पार्टी मुख्यालय सानेपामा १३ औं महाधिवेशनको मतगणना सकिएको उर्दी जारी हुदै गर्दा महाधिवेशनको कुनै रौनक थिएन । हार्नेहरु कुन दूलो कहिले पसे कसैलाई चासै भएन । जित्नेहरुले सामान्य खुसी साटासाट गरे । तर त्यो पनि विना जोश, उमंग र उत्साहको एक फगत औपचारिक्ता भन्दा उच्च र भिन्न थिएन ।

हो जित्नेहरुले पनि शानदार विजयोत्सव मनाउन नपाएको र हार्नेहरुका लागि ओरली लागेको हरिणको चाल झैं बनेको कांग्रेस महाधिवेशनको अन्तिम निर्वाचित केन्द्रीय अनुहार हेर्दा लोकलाई भन्न करै लाग्छ कांग्रेस नेतृत्व उस्तै आयो जस्तो पुरानो थियो ।

सभापतिमा शेरबहादुरको जीत र महामन्त्रीमा जननायक विपीपुत्र शशांकको उदय तथा कोषाध्यक्षमा माओवादी पीडित सीतादेवी यादको जीतको गाथामा कांग्रेसी लवजको केही गाथा बुनिएको भए पनि बांकी पात्र, प्रवृति र अनुहारको आवरणमा कांग्रेसको नयाँ नेतृत्व पुरानै दोहोरियो । र, त भन्नेहरुले १३ औं महाधिवेशनपछिको कांग्रेसलाई नयाँ बोतलको पुरानो रक्सी जस्तै भनेर टिप्पणी गर्ने छुट पाएका छन ।

जित्ने र हार्ने अनुहारहरुको चर्चाले बजार पिटेको महाधिवेशन सरह भो १३ औं कांग्रेस महाकुम्भ । कोईराला परिवारका शशांकको महामन्त्रीमा प्राप्त विजय र केन्द्रीय सदस्यमा शेखरको सर्वाधिक १८४८ मतको जीत कांग्रेसमा कोईराला वंशवादको निरन्तरता चाहने झुण्डहरुको लागि उर्जा बन्यो । खुमबहादुर खड्काको १८४६ मतसहितको जीत कांग्रेसका कार्यकत्र्ताकै लागि पुपुरोमा हात राख्नुपर्ने अवस्था हो ।

कांग्रेस घुमीफिरी खुमबहादुरको बाटो र प्रवृतिमा नै आईपुगेको मानक सन्देश पनि हो खड्काको सुरुदेखिकै अग्रता र दोस्रो शानदार पोजिसनको विजय । डा. मिनेन्द्र रिजालको चाहिने कुल २५ मध्येमा २५ औं स्थानमा रहनु पनि यो महाकुम्भको नोटमा रहने प्रसंग हो ।

केन्द्रीय समिति निर्वाचनमा खुला २५ तर्फको निर्वाचनमा पूर्वमहामहन्त्री एवम् सभामुख तारानाथ रानाभाटदेखि निवर्तमान केन्द्रीय सदस्य मनमोहन भट्टराईसमेत दर्जनौं नेताका हार यो महाकुम्भको रमाईलो पाटो हो । निर्वमान सदस्यहरु पदमनारायण चौधरी, सूर्यमान गुरुङ, पूर्वमन्त्री एवं सहमहामन्त्री गोविन्दराज जोशी, रामकृष्ण ताम्राकार, लक्ष्मणप्रसाद घिमिरेले केन्द्रीय सदस्य हुन भीसा नपाउनु सानो कुरो हैन ।

पदम नारायण चौधरीले १३ सय ४ मत ल्याएर २६ औं स्थानमा हुदा कति चोट परयो होला विचारा ? ललितपुरका सुकिला नेता, तरुण दलका अध्यक्ष एवं सांसद उदयशम्शेर राणाले १३ सय २ ल्याएर २७ औं स्थानमा रहदा वा चर्चित पैसोवाल ठेकेदार पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामा १२ सय ८०का साथ २८औं स्थानमा खुम्चिदा नेतृत्वको भरयांङ चढ्ने रहर र कहर राम्रैसंग बुझे होलान ।

खुब राजतन्त्रवादी नारा लाउने रयाटाटयाट्ट भट्ट भनिने पूर्वसभामुख तारानाथ रानाभाटले ९४०मा थन्किनुपर्दा र पूर्वमन्त्री चिरन्जीवी वाग्ले ७४३ मा रोकिनु पर्दा मन्त्री हुदा खा को घुस र आर्थिक अपचलनका सबै घट्ना झलझली संझे होलान । समकक्षी रामचन्द्र पौडेल सभापतिका प्रत्याशी हुदा आफूले केन्द्रीय सदस्यमै जित्न नसकी ११११ मतमा टाक्सिनु पर्दा गोविन्दराज जोशीलाई कति थकथकी लाग्दो हो विचरा ? कांग्रेसका घासी हुने जोशी रहर अतृप्त तृष्णै भो ।

तथापी विपीका सच्चा अनुयायी दावी गर्ने र विपक्षीलाई भित्तामा पुग्नेगरी हराउन सिपालु जोशीले जोश देखाउन कहां चुके भनेर रिभ्यू गर्दै होलान आफूलाई । आफूलाई विपीकै समकक्षी झैं ठूला ठूला आदर्शका कुरा गरेर मीडियामा छाउने र कार्यकत्र्ताको दैलो नदेख्ने मदिराप्रेमी मनमोहन भट्टराई ११६२ रोकिनु आफैमा स्मरणीय पक्ष हो भने हिन्दूवादी पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे ४४५ मा थन्किनु ठूलै सबक हो ।

उपत्यकाका मसिहा भनिने रामकृष्ण ताम्राकार ८६५ मा सीमित हुंदा जनजाती नेता सूर्यमान गुरुङले ६८५ मत कटाउन नसक्नु हिसाव अब निकाल्ने नै छन । जनयुद्ध कालमा माओवादीले धुजा धुजा पारेको विनयध्वज चन्दको सम्पती र योगदानको मूल्यांकन कांगेसका ४४३ भोटमा मात्रै टाक्सिनु चानचुने सबक हैन भने दावा गुरुङ, प्रतिमा गौतम जस्ता जोशीला युवाले केन्द्रसम्मको टिकट नपाउनु पनि सानो कुरो हैन उनीहरुलाई राजनीतिको कखरा सिक्ने राम्रै मौका हो ।

सभापतिमा हारेर पौडेलले कांग्रेसी रामराज्य स्थापना गर्न नपाउदाको चोट होस वा कृष्ण सिटौलाले सभापतिको बांसुरी बजाउने ईजाजत नपाउदाको दुख अचानाको चोट खुकुरीलाई के थाहा भने जस्तै हो । महामन्त्रीमा अर्जुननरसिंह केसीले क्याम्प चेन्ज गर्दा पनि बाजी मार्न नसक्नु र उनका ज्वाई आम जनमानसका लागि आर्दश युवा हुदा हुदै प्रतिनिधिबाट तीनजनामा तेस्रो पारिनुको पीडा र पाठ पनि बिर्सनै नसकिने महाधिवेशनको चोट भएको हुनुपर्छ । जम्मा ८ भोटले पूर्व कोषाध्यक्षमा सीमित हुनुपर्दा भोटको मूल्यवोध चित्रलेखा यादव जति अरु कसैलाई शायदै भएको हुनुपर्छ ।

यसप्रकार समग्रमा पुरानै परिचितलाई नेतृत्वमा स्थापित गर्दै कांग्रेसको १३ औं महाकुम्भले बिदा लिएको छ। इो जित्नेहरुका लागि नेतृत्व क्षमता प्रमाणित गर्ने अग्नीपरीक्षा हो भने हार्नेहरुका लागि फेरि फेरि धेरै काम गरेर नेतृत्वको दागा धर्ने पाठ हो । यो नेतृत्वमा सुविधाजनक बहुमत सभापति देवाले पाएका भए पनि दमदार नेता पौडेल खेमाका पनि जितेकाले गुटगत बाहुल्यताको छायां नपारेको हदसम्म केन्द्रीय समिति संतुलित र पार्टीको भावनात्मक एकता सुदृढ पार्ने किसिमकै छ भन्दा अतिशयोक्ति नहोला की ?





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang