शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
भेटवार्ता
Jul 10, 2016
नेविसंघको पुरानो साख जोगाउन सभापतिमा मेरो उम्मेदवारी
आईतवार, आषाढ २६, २०७३
नेपाल विद्यार्थी संघको महाधिवेशन यही साउन २३, २४ र २५ गते हुने भएको छ । यस महाधिवेशनमा नेपाल विद्यार्थी संघका पूर्व–कोषाध्यक्ष कुन्दनराज काफ्ले संघका सभापतिका प्रत्यासी हुन् । विद्यार्थी राजनीतिमा प्रभावशाली व्यक्तित्वका रुपमा परिचित काफ्लेले ०६२÷६३को जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । लोकतान्त्रिक जनआन्दोलनमा राजाविरोधी प्रतीकात्मक आन्दोलनहरु गरेर चर्चामा आएका विद्यार्थी नेता हुन्, काफ्ले । कहिले राजाको प्रतीकका रुपमा कुकुर अभिनन्दन त कहिले गणतन्त्रका पक्षमा नमूना जनमत संग्रह गराएर कुन्दनले आन्दोलनमा ऊर्जा थपेका थिए । काफ्ले इमानदार, स्वच्छ छवि र स्पष्ट भिजन भएका विद्यार्थी नेताको रुपमा सबैमाझ लोकप्रिय हुनुहुन्छ । उनी सभापतिका प्रत्यासी काफ्लेसँग नेविसंघको महाधिवेशन, नेपालको शिक्षा क्षेत्रलगायत विषयमा आधारित भएर गरिएको कुराकानीः

– लामो समयपश्चात् नेपाल विद्यार्थी महासंघको महाधिवेशन हुन लागेको छ, तयारी कस्तो भइरहेको छ ?
नेपाल विद्यार्थी संघको महाधिवेशन १० वर्षपश्चात् हुन लागिरहेको छ । यद्यपि यस महाधिवेशनमा ४१ जिल्लाहरुको विधिवत् रुपमा महाधिवेशन प्रतिनिधिहरुको चयन हुनसकेको छैन । विविध समस्याहरुका बीचमा हामी सबै संघको विधिसम्मत रुपमा महाधिवेशन गराउन निरन्तर रुपमा लागिरहेका छौँ । अबको नेतृत्व चयन, नेविसंघको सैद्धान्तिक अवधारणा तयार गर्ने, आगामी एजेण्डा आदिका बारेमा हामी गम्भीर बहस र छलफल चलाइरहेका छाँै । यसका लागि संघका सम्पूर्ण साथीहरुमाझ सौहार्दपूर्ण वातावरणमा छलफल तथा सल्लाह÷सझुावको प्रक्रियामा रहेका छौँ ।

– संघमा चरम गुटगत विभाजन छ भन्ने आरोप छ नि ?
लोकतान्त्रिक पद्धतिअनुसार संघमा वैचारिक विविधता हुनु कुनै नराम्रो पक्ष होइन । लोकतन्त्रमा हरेक पक्षहरुले आफ्नो विचार स्वतन्त्र रुपमा राख्न पाउने व्यवस्था हुन्छ । तर गुट संगठनका नाममा अस्वस्था प्रतिस्पर्धा र आफ्नो दायित्वभन्दा विचलित हुने कार्य राम्रो होइन । जस्तै, विद्यार्थी संगठनहरुकै कुरा गर्दा पनि उनीहरुले उठाउनुपर्ने विषयहरु उठाउन नसकेको महसुस हुन्छ । हालसालै ललिपुरमा प्लटिङ गरिएको एक पर्खाल भत्किँदा त्यसको नजिकै रहेको विद्यालयको गाह्रो भत्किएर कलिला बच्चाहरुले ज्यान गुमाउनुप¥यो । यस्तो समयमा खोइ विद्यार्थी संगठनहरुको भूमिका ? यहाँ विद्यार्थी संगठनहरुले पनि आफ्नो भूमिका निर्वाह गर्न सकिरहेका छैनन् ।

– नेविसंघले चाहिँ उक्त घटनामा के भूमिका खेल्यो त ?
हामीले सामाजिक सञ्जाललगायत सबै क्षेत्रबाट सशक्त आवाज उठाएका छाँै । विद्यालय क्षेत्रहरुमा भइरहेका लापरबाहीलाई उजागर गर्दै दोषी पक्षलाई कडा कारबाही गर्न माग गरेका छाँै । त्यस्तै, त्यस घटनामा छानबिन कमिटी गठन गरी आवश्यक अनुसन्धान गर्न र कारबाहीको निर्देशन गर्न पनि हामीले सम्बन्धित निकायसँग जोडदार माग राखेका छौँ । यति मात्र होइन, देशभर रहेका अन्य विद्यालयहरुको पनि भौतिक अवस्था, सुरक्षाको स्थितिलगायतका पक्षमा पनि राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्ने आवाज उठाएका छाँै ।

– नेविसंघले शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गर्न सकेन भन्ने आरोप छ नि ?
नेपालकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस हो र यस पार्टीको एउटा भातृसंगठनको रुपमा नेविसंघको आफ्नो छुट्टै गौरवशाली इतिहास रहेको छ । नेपालमा भएका राजनैतिक, सामाजिक परिवर्तनका आन्दोलनहरुमा नेविसंघकै सक्रियतामा सम्पन्न भएका छन् । देशलाई राजनीतिक रुपमा एउटा गति दिन नेविसंघले विगतदेखि नै एउटा जिम्मेवार युवाशक्तिको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । तर अब देशमा शैक्षिक क्रान्तिको जरुरी रहेको छ । अहिले देशमा धनी र गरिबबीचको शैक्षिक पहुँच र अवस्थिति आकाशपातालको रुपमा फरक रहेको छ । आज देशमा भौगोलिक रुपमा नै शैक्षिक क्षेत्रमा असमानताहरु देखिएका छन् । जुम्ला, हुम्ला र नेपालगञ्जबीच नै तुलना गर्ने हो शिक्षामा असमानता देखिन्छ । शिक्षामा कपी पेस्टको चलन आएको छ । यस्तो अवस्था सुधार गर्नका लागि अब नेविसंघको ११औं महाधिवेशनपश्चात् संघले त्यसतर्फ भूमिका खेल्नेछ । आज नेपालमा छोराछोरीको शिक्षाबाट आमाबुबाहरु ढुक्क हुन सकेका छैनन् । त्यसकारण अध्ययनकै लागि भनेर युवाहरु विदेशिरहेका छन् । अब नेविसंघले त्यस्ता समस्याहरुको निराकरण गर्न नै नेपालमा नै गुणस्तरीय शिक्षा प्राप्तिका लागि पहल गर्नेछ । त्यसका लागि पहिलो त नेपालमा शिक्षा प्रणाली सुधारका लागि धेरै रिसर्च सेन्टर खोलिनुपर्छ । धेरै नेपाली एक्स्पोर्ट निकाल्नुपर्छ । १०, ५० र १०० वर्षका लागि हाम्रो शिक्षा प्रणाली कस्तो हुनुपर्छ ? त्यो विषयमा छलफल आवश्यक छ । सम्पन्न र समृद्ध नेपाल बनाउन आवश्यक छ । सबै प्रान्त, जिल्लामा रिसर्च सेन्टर खोलिनुपर्छ । त्यहाँ कुन जनशक्ति आवश्यक हो ? कस्तो नैतिकवान् विद्यार्थी उत्पादन गर्ने ? कस्तो राष्ट्रियता भएको विद्यार्थी उत्पादन गर्ने ? नेपालमा कस्तो इन्जिनियर आवश्यक हो ? कुन रोगको डाक्टरको आवश्यक बढी छ ? ती सबैमा ध्यान दिनुपर्छ ।

– महाधिवेशनमा फर्जी प्रतिनिधिहरुको संख्या देखियो भन्ने आवाज उठेको छ, यसमा के भन्नुहुन्छ ?
हो, महाधिवेशनमा केही जिल्लाहरुका प्रतिनिधिहरुको विधिवत् चयन हुनसकेको छैन । त्यस्तै, केही फर्जी प्रतिनिधिहरुको पनि उपस्थिति देखिएको छ । यस्तो हुनु भनेको नेविसंघको साख र गौरवशाली इतिहासविरुद्धका गतिविधि हो । यसमा पार्टी नेतृत्व र संघका सबै साथीहरु गम्भीर हुन आवश्यक छ । यदि पार्टीमा यस्ता अवैध गतिविधिहरु भएमा पार्टी रुपान्तरण, हाम्रा राजनैतिक, शैक्षिक एजेण्डाहरु आझेलमा पर्न जाने र पार्टीमा गलत तत्वहरु हावी हुने सम्भावना बढ्छ । जुन इमानदार पार्टीका सदस्यहरुका लागि कदापि मान्य हुनेछ नै । जसका लागि हामी सधंै आवाज उठाइरहेका छौँ खबरदारी गरिरहेक छाँै ।

– महाधिवेशनमा पार्टीले पदाधिकारी भागबण्डा गर्ने कुरा आएको छ नि ?
जहाँसम्म लाग्छ, पार्टीबाट यस्तो भागबण्डाको वातावरण सिर्जना हुने छैन । किनभने पार्टीले लोकतान्त्रिक पद्धतिलाई अंगीकार र आत्मसात् गर्दै आएकोले लोकतान्त्रिक पद्धतिबाट संघमा नेतृत्व चयन हुनु राम्रो हुनेछ । हामी सुरुमा नेविसंघमा लाग्दा संघमा नेतृत्व, कार्यक्रम, एजेन्डाका कुरा हुन्थ्यो । संघको नेतृत्वले गलत गरेका कारण बारम्बार यस्ता गल्ती दोहो¥याएका कारण हाम्रो बल नेतृत्वको काँधमा गएको हो । नेविसंघ राम्रो हुँदा, सही नेतृत्व हँुदा राजनीतिक दलका नेताले गलत काम गर्दा नेविसंघले औंला ठड्याउँथ्यो । हामी नेताले गरेको गलत कुराको ‘अब्जेक्सन’ गर्छौं र हामी सही ट्र्याकमा ल्याउन सक्षम बनाउँछौं । त्यस्तो संघ निर्माण हाम्रो अभियान हो । संघले नचलेको खण्डमा बिग्रेका कुरा गर्नुभयो । नेविसंघ अबको ११औं अधिवेशनबाट सक्षम र सबल बन्छ । त्यो सक्षम र सबल नेविसंघले नेतृत्वलाई सही ट्र्याकमा ल्याउँछ । त्यो कुरा म विश्वास दिलाउन चाहन्छु ।

– यस महाधिवेशनमा तपाईं कुन पदको उम्मेदवार हुनु हुन्छ र तपाईको उम्मेदवारी केका लागि ?
नेविसंघको ११आंै महाधिवेशनमा मेरो सभापतिको लागि उम्मेदवारी रहनेछ । नेविसंघको पुरानो साख जोगाउनका लागि पनि मेरो नेतृत्व आवश्यक छ । सही नीतिका लागि संगठनमा सही नेतृत्वको आवश्यकता हुन्छ । पञ्चायतकालमा नेपाल विद्यार्थीलाई थुन भन्दा, नेपाल विद्यार्थी भनेर कसरी चिन्ने भनेर सोधिन्थ्यो । उत्तरमा जसको उच्च शिर छ, जसको आत्मबल दह्रो छ, जसले देशको स्वाभिमान र स्वाधीनताका लागि जस्तोसुकै बलिदानी दिन तत्पर रहन्छ, तिनै नेविसंघ हुन् भनेर बताइन्थ्यो । हो नेविसंघको त्यो छवि पुनर्जीवित गर्नका लागि सभापतिमा मेरो उम्मेदवारी हो । विधिविधानभन्दा व्यक्ति ठूलो हुनहुन्न, सबैभन्दा ठूलो विधि र संघ हो र व्यक्ति त्यसपछि भन्ने मेरो मान्यता हो । हिजो देशमा संघीयता, गणतन्त्र ल्याउनका लागि कुकुर अभिनन्दनलगायतका अभियानमार्फत जनताको पक्षमा आवाज उठाउने हाम्रो नेतृत्व संघलाई आवश्यक परेको छ । देशमा शैक्षिक क्रान्तिको आवश्यकता छ । आज आमाबुबालाई आफ्नै छोराछोरीको शिक्षाप्रति भरोसा छैन । मेरै नेतृत्वमा नेविसंघले ती एजेण्डा उठाउन विश्वास दिलाउन चाहन्छु । मसँग नेपालको शैक्षिक क्रान्तिको लागि एजेण्डा छन्, तिनलाई कार्यान्वयन गर्ने हिम्मत छ । त्यसकारण पनि म सभापतिको लागि दाबेदारहँु ।

– अन्त्यमा भन्नैपर्ने केही कुरा...
नेविसंघको जुन गर्विलो इतिहास छ, त्यसको निरन्तरताका लागि पनि नेविसंघमा मेरो नेतृत्व आवश्यक छ । संघमा विधिविधानको पालना र शैक्षिक क्रान्तिको मेरो एजेण्डालाई अघि बढाउन नेविसंघका सबै साथीहरुलाई सहयोगका लागि आह्वान गर्दछु ।
- सुशासन न्यूज साप्तहिकबाट



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang