शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
विचार
Aug 02, 2016
प्रचण्ड सरकार बनेपछि के हुन्छ ?
मंगलवार, श्रावन १८, २०७३
प्रचण्ड नेतृत्वको सरकार बन्ने तरखर सुरु भइसक्यो । नेपाली कांग्रेसले समर्थन गरेकाले बहुमतीय सरकार बनाउने अवसर मिलेको हो । मधेसी मोर्चा, जनजातिसहितका संघीय गठनबन्धनले समेत आफ्ना मागहरुमा लचक अपनाउने र पूरा गर्ने प्रत्याभूति दिने हो भने सरकारमा सामेल हुनसक्ने भनिसकेका छन् ।

त्यसो त मोर्चाले ओली सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता हुनासाथ साथ दिने बताइसकेका हुन् । अव हेर्नु यत्ति छ कि कांग्रेस माओवादीले ओली सरकाद्वारा राज्यदमन गरेर मारिएकालाई क्षतिपूर्ति, बिरामीको उपचार, मुद्दा फिर्ता र पक्राउ परेकालाई रिहा गर्ने त निश्चित छ, मधेसी मागअनुसारको मधेसमा एक वा दुई प्रदेश कसरी दिनेछन् ?

सरकार परिवर्तनको रन्कोसँगै २०६३ सालको जनआन्दोलनदेखिका सम्झना हुन थालेको छ । मूल्यांकन सुरु भएको छ । जुन जोगी आए पनि कानै चिरिएका देखेर सरकार परिवर्तनप्रति जनताको खासै उत्साह भने देखिदैन । तर, सिंगो मधेस र जनजातिमाथि वार्ता भन्दा दमन नीति जुन ओली सरकारले अपनायो, त्यो स्थितिप्रति अव ब्रेक लाग्नेछ र वार्ता र संवादको वातावरणबाटै समस्याहरको निकास निकालिने छ ।

२०६३ को जनआन्दोलनबाट व्यवस्था परिवर्तन भयो । व्यवस्था परिवर्तनसँगै सरकार परिवर्तनको श्रृंखला पनि निरन्तर जारी छ । जनआन्दोलनले खोजेको जनताको जनजीवनको परिवर्तन थियो कि निरन्तरको सरकार परिवर्तन ? ११ वर्षमा ९ पटक सत्ता परिवर्तन भयो । आलोपालो सत्ता परिवर्तनले नेताहरुलाई रमाइलो भएको होला, जनताको जीवनयापन भने झन झन कष्टकर बन्दै गएको छ । यसकारण प्रश्न उठेको छ– जनआन्दोलनपछिको नवौं प्रधानमन्त्रीको रुपमा दोस्रोपटक प्रचण्ड सरकार बनेपछि के हुन्छ ?

जनता मालिक हुने गणतन्त्रात्मक संघीय लोकतान्त्रिक प्रणाली साँच्चै मजबुत हुन्छ ? अहिलेसम्म लोकानुभूति हुन नसकेको लोकतन्त्र गणात्मक, गुणात्मक र गनाउने गन्ध सुगन्धमय हुन्छ ? जनताको थाप्लोमा थोपरिएको रोग, भोक, शोक र निरन्तरको राजनीतिक नौटंकीको अन्त्य हुन्छ ? विश्वजगतमा कहीँ कतै नदेखिएको दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र र सिण्डिकेटतन्त्रको अनौठो र अनिष्टकारी लोकतान्त्रिक चरित्रमा सुधार आउँछ ?

जनआन्दोलनपछि आफैले अन्तरिम संविधान लेखेर ६ सय १ को संविधानसभा निर्माण गरेका हुन् र त्यही संविधानसभा वर्तमान संसद हो । एक से एक लोकनेता, लोकनेतृले फुर्सद लिएर दोस्रो संविधानसभाको निर्वाचन समेत गरेर संविधान लेखे तर फास्टट्रय्राकबाट संविधान जारी गर्नुपरेको वाध्यात्मक लोकव्यवस्था हो यो । ६ सय १ बस्ने संसदबाट उद्घोष भएको थियो– यो संविधानबाट लोकतान्त्रिक नेपाल सुन्दर, शान्त र समृद्ध नेपाल बन्छ । तर संविधान अँध्यारोको दियालो पनि बनेन, नयाँ आलोक कतै देखिएन । असोज ३ गते जारी गरिएको संविधान वर्षदिन हुँदा पनि सत्ता र संसदकै वरिपरि घुमिरहेको छ, संविधान जनजीवनमा आउन सकेन, छाउन सकेन ।

खास्साको संविधान आयो भनियो, वर्षे भेलले बाढी पहिरोले गरेको नोक्सानीझैं संविधानले नोक्सानमात्र गरिरहेको छ । सबैभन्दा ठूलो नोक्सान ठूला पार्टीका ठूला नेताहरुको सत्तापिपासुपन बढाएर नेतृत्व तहको नैतिक पतनमार्ग प्रशस्त गरेको छ । विधि नूतन भएर के गर्नु, आचरण पुरातन भएपछि । नीति बन्यो, नेतृत्व विकास भएकै छैन । नेतृत्वबिनाको वचतवद्धता, प्रतिवद्धता कसरी फलाफल हुन्छ ? लोकतन्त्र लोकहितका लागि हो तर यहाँ नेता र पार्टीहितमात्र भइरहेको छ । यो नकारात्मक नेतृत्वले कोर्ने संघीयत¬ाको सीमा, बाँध्ने पहिचानको बिधि, गणतन्त्रको नारा र हिन्दूधर्मको किनाराले कस्तो रुपरङ, रस गन्ध प्रवाहित गर्ला ? प्रकृति, प्रशासन र राजनीतिले ल्याएको आपतविपत सहन गर्दै गहभरि आँसु लिएर मरिरहेका लोकको खुशी खोज्ने प्रयास कहीँ कतै कसैले गरिरहेको अनुभूति गर्ने ठाउँ नै छैन । अनि प्रश्न उठेको छ– प्रचण्ड नेतृत्वको सरकार बन्ने निश्चित छ, प्रचण्ड आएपछि के हुन्छ ?

राजतन्त्र फालेपछि लोकतन्त्रले उज्यालो छर्छ भन्नेहरु नेतृत्वतहमै छन् । जनताले तिनलाई सत्ताको बा¬गडोर दिइरहेकै छन् । तिनले थाइलेण्ड, जापान, बेलायतमा राजतन्त्र भए पनि विकास कसरी भयो ? खाडी मुलुकहरुमा बादशाहको शासनले कसरी विकास गरे ? यी प्रश्नहरुबारे लोकतान्त्रिक नेताहरुको जवाफ के छ ? अव तिनले बोल्नुपर्छ । कि¬नकि नेता बदलिए, आचरण बदलि¬एन । व्यवस्था बदलियो, व्यवहार बदलिएन । खोट प्रणालीमा होइन, नेतृत्वमा छ । दोष नीति, निष्ठा र नैतिकताविहीनतामा छ । समस्या नेताहरुको सोचमा छ ।

संक्रमणकालीन स्थितिमा सत्ता परिवर्तन गर्नु परे कसरी गर्ने भन्नेसम्मको सोच संविधान निर्माताले राख्न सकेको देखिएन र अहिले बाधा अड्काउ फुकाउन सरकारले सिफारिस र राष्ट्रपतिले फर्मान जारी गर्नुप¥यो । यति सानो कुरामा सोच्न नसक्ने नेताहरुले राष्ट्रिय एकता, सम्पन्नता र बिधियुक्त प्रणाली कसरी कमाण्ड गर्न सक्लान् ?

जनता मिलेर शासन गर, सहमतिको संस्कार विकास गर भनेर जनादेश दिदै जाने र पार्टीहरु एकदोस्रालाई पछार्न पहलमानी देखाएर जनबललाई भ्रष्टाचारको मल बनाइरहने ? यो निरन्तरताकै बहावमा निरन्तर सरकार परिवर्तन भइरहने ?

०६३ सालको परिवर्तनपछिको ११ वर्षको निचोड भनेको केही टाउको नेताको लाउके पारामात्र हो । लोकतान्त्रिक पद्धति यिनै टाउके नेताको साँघुरो, अँध्यारो र अधमरो सुरुङ्गी निर्णयमा सिमित छ । लोकको मन, मत, माग मुताविकको शासन, प्रशासन स्थापित हुनै नसक्ने पनि लोकतन्त्र हुन्छ र ? लोकतान्त्रिक बाजा बजेको छ, रम्ने रमाउने लोक देखिदैनन् । रिति छ, रित छैन, बिधि छ पा¬लना हुँदैन । प्रावधान छन्, प्रावधानको शोभाश्रृंगार, उल्लास र उपादेयता हुनसक्दैन । यो कस्तो लोकतन्त्र हो, लोकले खुशी हुने हकसम्म पनि नपाउने ? यसकारण प्रश्न उठेको छ– प्रचण्ड हातमा सत्ताको कमान आ¬एपछि के हुन्छ ?

घरमा चर परेपछि वर्षातको पानी पस्छ र पानी पस्दापस्दा घर नै ढालि¬दिन्छ । पञ्चायतको चर भ्रष्टाचार थियो, स्वतन्त्रतामाथिको नियन्त्रण थियो । त्यही चरबाट असन्तुष्टि विचार छि¥यो, र पञ्चायत ढल्यो । बहुदल आयो तर बहुदलको चर नेतृत्वको हानाथाप, भ्रष्टाचार, व्यक्ति¬वाद र गतिहीनता भयो र त्यही चरले बहुदललाई लोकतन्त्रको नयाँ जन्म लिनबाध्य पारिदियो । लोकतन्त्रमा पनि चर परेको छ । बहुदलीय अभिषाप सरुवा भएर लोकतन्त्रको चर बनेका छन् । लोकको अपेक्षा उपेक्षा गर्ने थप चर परेका छन् । गैरजिम्मेवारी, असक्षमता, अकर्मण्यता र नैतिकपतन लोकतन्त्रका सबैभन्दा ठूला ठूला चर हुन् । अहिलेसम्म लोकतन्त्र साबुत छ तर लोकको विश्वास व्यापक रुपमा घटिसकेको स्थिति छ । नेतृत्वको स्तर र देश विकासको स्तर दुबै घट्दोक्रममा छन् । गफ चुट्ने, भाषण फुक्ने, हल्लाखल्¬ला गर्ने स्वतन्त्रता र मौलिक हक पर्याप्त छ तर व्यवहारमा ती हक राजनीतिक प्रभावका बन्दी बनेका छन् । नेताहरु फुट्छन्, जुट्छन, लुट्छन्, लड्छन्, उठ्छन्, जनता उठाउने र देश विकास गर्नेतिर कसैको ध्यान छैन । पालिसे कुरामा पि¬पलपाते नेतृत्व दिनहुँ चिप्लिरहेको छ । यस्तैमा रम्ने रमाउने लोकनेतृत्व जनघृणाका पात्र बनेका छन् । कुनै नेता राजनेता बन्नै सकेनन् ।

कम्युनिष्ट केन्द्र खोल्छु भन्ने प्रचण्ड एउटा कम्युनिष्ट एमालेलाई सिंहदरवारको भीरबाट घचेटेर अघि बढेको छ । जनआन्दोलनपछि छैठौं सरकारको नेतृत्व गर्ने अवसर छोपेका छन् कमरेड प्रचण्डले । यो उनको सिंहदरवार छिर्ने दोस्रो कार्यकाल हुनेछ । यिनको सत्ता चलाउने ढाँचा कम्युनिष्ट एकतन्त्रीय शैलीमा होइन, संविधान निर्देशित हुनुपर्छ । प्रचण्डको कमरेडी आँखाले बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने थलो देख्नुहुन्न संसदलाई । लोकतान्त्रिकरणको नारामा आफूलाई हेलिसकेका प्रचण्डले यथार्थ परिवर्तनको संवाहक बन्ने कि नबन्ने ? यद्यपि प्रधानमन्त्री केपी अ‍ोलीविरुद्ध अविश्वासको प्रस्ताव राख्दा प्रचण्डले राजनीति भनेको सम्भाबनाको खेल हो भनेर अपरिपक्व र अपाच्य अभिव्यक्ति दिएकै हुन्, नैतिक लक्ष्मणरेखा नाघेकै हुन्, सैद्धान्तिक विचलन देखाएकै हुन् तथापि समयले मौका दिएको छ सुध्रिन र लोकको पक्षमा पहाड बनेर उभिन । प्रचण्ड खरो रुपमा उत्रेलान् कि जनयुद्धकालीन अमानवीय र अन्तर्राष्ट्रिय जगतले दण्डहीनता स्वीकार्य छैन भनेका आफू र आफ्ना सहयोगीहरुका अपराधहरु, रगतपच्छे हातहरु पखाल्ने बाइसधाराका रुपमा सत्ताको यो कार्यकालको उपयोग मात्र गर्ने दुस्प्रयास गर्लान् ?

अव प्रचण्डले भन्नैपर्छ– संविध¬ानमा सुधार हुन्छ, सुधार देखिन्छ । विधिमा बसिन्छ, शासन प्रशासन वि¬िधमा राखिन्छ । अस्थिरता सकियो, स्थिरता निर्माण गरिन्छ । राज्यको कार्यक्षमता बढँइन्छ, सुशासन देखाइन्छ । देशको हितमा, शान्ति र विकासका लागि जस्तोसुकै अप्रिय निर्णय गर्नुपरे पनि गरिन्छ । राजनीति आचारविचारमा, आदर आदर्शमा, नीति र निष्ठामा, लोकलज्जा र नैतिकतामा कायम हुनेछ ।

भन्न सक्छन् प्रचण्डले कि आइन्दा सत्ता करिडरमा चहलपहल गर्ने, पार्टी र प्रशासन निकटका स्वनामधन्यत¬ाका धनीमानीहरुको ढलीमली अव हुनेछैन । प्रशासन र पहुँचवाला, पार्टी र कार्यकर्ताको भोगविलास, आमोदप्रमोदमा लिप्त भइसकेको राज¬नीतिलाई चोख्याइनेछ । जनताप्रतिको जिम्मेवारीबाट राज्य र राजनीति पलायन हुनेछैन । जनअपेक्षा नै राजनीतिक धर्म हो, यो धर्मबाट च्यूत हुनेछैनौं । जनरञ्जनमा ध्यान दिन्छु, राजनीतिक मनोरञ्जन देखाइनेछैन । अन्याय भयो भनेर जनताले लडीबुडी गरेर अव रोइरहनुपर्दैन । लोकसरकारले लोकको गोठालो भएर जन अपेक्षाको परिपूर्ति र सम्पन्नताको लागि अव व्यवहारमै कृतसंकल्पित रुपमा काम गर्नेछ । प्रचण्ड सरकार बन्दा लाजिम्पाट र पेरिसडाँडा होइन, देशका डाँडाकाँडा, हिमालतराई सबैतिर खुशीयाली ल्याइनेछ ।

प्रचण्डको सिंहदरवार यात्रा राज¬नीतिक तीर्थयात्रा बनोस् भन्ने कामना सबैतिर सुनिन्छ । प्रचण्डसत्ताको जग भागशान्तिमा छ, देश शान्ति होला कि नहोला ? प्रचण्ड आएपछि के होला ?

कुरोको चुरो प्रचण्ड सरकारले लिने नीति र गर्ने निर्णयमा भर पर्छन् । आइन्दा जनविरोधी र अहिलेसम्म भए देखिएका गल्ती कमजोरी दोहोरिनु हुन्न । भाषणमा देशभक्ति होइन, जनताको जीवनमा देशभक्ति देखिनुपर्छ । जनताको जीवनचक्र जति सहज भयो, त्यत्ति नै देशभक्ति मजबुत हुनेछ । – गोरखा एक्सप्रेसबाट





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang