शनिबार, १ मंसिर, २०७५ (Sat, 17 November, 2018)
भेटवार्ता
Aug 02, 2016
भौगोलिक दृष्टिले हाम्रो देश नेपाल पनि एउटा माङखिम नै हो
मंगलवार, श्रावन १८, २०७३
इलाम बाँझोका सचित राई राजधानीमा रहेर पत्रकारिता पेसामा क्रियाशील छन् । “पूर्व जाने हो...” गीति एल्बम, “नयाँ नेपाल” अन्तर्वार्ता सँगालो र “अर्को भ्रम” कविता संग्रह प्रकाशन गरिसकेका सचितले हालै खोजअनुसन्धानमूलक निबन्धात्मक कृति “माङखिम” बजारमा ल्याएका छन् । साहित्य र समाजसेवामा पनि सक्रिय उनी लेखन र सम्पादनमा दख्खल राख्छन् । यिनै युवा लेखकसँग गरिएको “माङखिम” केन्द्रित कुराकानी:

– माङखिमलाई कसरी बुझ्ने हो ?
शब्दको हिसाबले भन्नुपर्दा किरात राई बान्तवा भाषामा माङ (पितृ) र खिम (घर) जोडिएर माङखिम अर्थात् पितृघर भएको हो । विधागत हिसाबबाट मैले यसलाई निबन्ध संग्रह भनेको छु । यद्यपि, यी परम्परागत निबन्ध भने होइनन् भन्ने लागेको छ, प्रतिक्रिया पनि त्यस्तै प्राप्त भइरहेको छ । खोजअनुसन्धानमूलक लेखहरू समेटिएका छन् यसमा । त्यसो भएको हुँदा यसलाई खोजअनुसन्धानमूलक निबन्धात्मक कृति भन्दा हुन्छ होला । माङखिमको लाक्षणिक अर्थका हिसाबले भन्नुपर्दा यो ब्रह्माण्डलाई नै लिन पनि सकिन्छ । भौगोलिक दृष्टिले हाम्रो देश नेपाल पनि एउटा माङखिम नै हो ।

– यो कृतिको जन्म कसरी भयो ?
सुरुमा म पहिचानसम्बन्धी लेखहरूको संग्रह प्रकाशनकोे सोचमा थिएँं । राष्ट्रगानका रचयिता व्याकुल माइलाको सल्लाहसुझावबाट म ‘माङखिम’सम्म आइपुगेको हुँ । कवि÷निबन्धकार दीपक सापकोटाको पनि साथसहयोग रह्यो । किताबको नाम ‘आत्मनिर्णय’देखि ‘पानीढलोको बाटो’ हुँदै ‘माङको घर’सम्म जुरेको थियो । प्रकाशन संयोजनका क्रममा यो कृतिको पाण्डुलिपि ‘माङको घर’कै नामबाट इलाम समाज हङकङसम्म पुगेको थियो । आर्थिक पक्षको जोहो इलाम समाज हङकङले नै गरेको हो, उसको सहयोगबिना यो कृति अहिले नै यो स्तरमा प्रकाशन सम्भव थिएन । त्यही क्रममा पुष्पा लोहोरुङ र अशोक बान्तवाले ‘माङखिम’ बनाउन सल्लाह दिनुभयो । सुरुमा मलाई यो नाम ठीकै मात्र लागेको थियो, सल्लाहसुझाव नमान्नु निको लागेन । अहिले आएर भने एकदम राम्रो गरिएछ भन्ने महसुस भइरहेको छ । माङखिम शब्द उच्चारण गर्नासाथ किरात मुन्दुमी संस्कार–संस्कृतिको छायाचित्र आँखामा आइहाल्छ ।

– यो कृतिको प्रकाशन र अहिलेको अवस्थामा कसरी तादात्म्य मिलेको छ भन्न सकिन्छ ?
पछिल्लो समय पहिचानको मुद्दा राजनीतिको केन्द्रमा रह्यो । साहित्यमा पनि पहिचानकै विषयवस्तुले फरकपन दिन थालेको छ । हुन त पहिचान भन्नुबित्तिकै कसैले नाक खुम्चाइहाल्नुपर्ने र कसैले नाक फुलाइहाल्नुपर्ने अवस्था पनि बन्यो । हामीले आफैंकहाँ लुकेर रहेका विषयलाई उजागर गर्नु आजको आवश्यकता हो । मैले राजनीतिक मात्र होइन, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका ‘सीमान्त विषय’लाई ‘माङखिम’मा समेट्ने प्रयत्न गरेको छु । यसलाई हामीले पुनव्र्याख्याको अवधि भन्न सक्छौं । अर्कातर्फ भूकम्पले ठूलो जनधनको क्षति पु¥यायो, त्यसले हाम्रो सोचमा पनि परिवर्तन ल्यायो होला भनेको त भ्रम मात्र रहेछ । हामीलाई भूकम्पले होइन, हामीबाटै निर्मित भौतिक संरचनाले मार्छ भन्ने पाठ यति चाँडै बिर्सिसकेछौं । यस्ता विषय पनि समेटिएका छन् ।

– तपाईंले जनजाति फिगर र जनजाति संस्कार–संस्कृतिबारे लेखेको भन्ने पनि यदाकदा सुनिन्छ, के भन्नुहुन्छ तपाईं ?
बजार चर्चा त जे पनि हुन सक्छ । यद्यपि, म त्यसलाई बेवास्ता गरिरहन भने सक्दिनँ, कुनै पनि लेखकले त्यसलाई ध्यान दिनुपर्छ । किनभने, लेखक÷स्रष्टालाई स्वस्थ आलोचनाले अघि बढ्न मद्दत नै पु¥याउँछ । तर, कतिपय आलोचना भने पूर्वाग्रही पनि हुन्छन् भन्ने बिर्सनु हुँदैन । जहाँसम्म मेरो लेखन जनजातिकेन्द्रित भयो भन्ने कुरा छ, त्यसो भएको पनि होला । भौगोलिक हिसाबले पूर्व (त्यसमा पनि इलाम जिल्लाकै) परेकै पनि होलान् । तर, यसमा मेरो कुनै पूर्वाग्रह छैन, आग्रहसम्म हुन सक्छ । किनभने, मैले जसका जे विषय उठान गरेको छु, सबै राष्ट्रिय महत्वका छन् । कुनै जाति, भाषा, धर्म, संस्कृति, भूगोल, समुदायको मात्र हितको कुरा होइन कि यी विषय राष्ट्रकै हितमा छन् । सचितले जनजातिकै लागि मात्र लेख्यो भन्नेले लेखेर देखाओस् न सबैका लागि, कस्तो लेख्दो रहेछ ? अनि मात्र म त्यसलाई स्वस्थ आलोचना भन्छु । समाजको फरक पाटोको उठान गर्दा जोखिम हुन्छ नै, त्यसकै रूप पनि हुन सक्छ यस्ता आलोचना । मेरो लेखनलाई परम्परावादी चस्माले हेर्नुभयो भने त्यस्तै देखिएला ।

– भौगोलिक रूपमा तपाईं किन इलाममा मात्र केन्द्रित हुनुभयो ?
मेरो लेखन इलाममा केन्द्रित हुनु त स्वाभाविक छ । मैले जाने–बुझेकै इलामलाई हो । जहाँ म जन्में–हुर्कें, लामो समय बिताएँ, त्यो ठाउँको बारेमा नलेखी अरूको कसरी लेख्न सक्छु ? नलेख्ने भन्ने त होइन, मैले अमेरिकाको कल्पना गरेर लेख्ने कुरा भएन । आफ्नो लेखनलाई विश्वसनीय बनाउनुपर्छ । मेरै गाउँठाउँमा त्यत्रा प्रतिभा रहेछन्, चिनाउनुपर्ने कुरा थुप्रै रहेछन्, मैले त्यसलाई पाठकसम्म ल्याउने जमर्को गरेको हुँ । खासगरी, समाजमा फरक पाटोका रूपमा रहेका कुरालाई दस्तावेजीकरणको प्रयास हो ‘माङखिम’ ।

– तपाईंले ‘माङखिम’का विषयवस्तु राष्ट्रिय महत्वका छन् त भन्नुभयो, आधार के ?
रामप्रसाद राई, जो २००८ सालदेखि बेपत्ता भयो भनिएको छ । उनी प्रजातन्त्र स्थापनाका लागि नेतृत्वदायी पंक्तिमा रहेर लडेका थिए । गोर्खा सैनिकबाट फर्किएर नेपाली सेनामा (मिलिसिया)मा जागिर खाएर राणा–दरबार सम्बन्धलाई नजिकबाट नियालेका उनले तत्कालीन अवस्थामा राणा शासनको विरोधमा लागेकाहरूसँग पुलको काम गरेका थिए । किनकि, उनी राजा त्रिभुवनसँग निकट सम्बन्धमा रहेको देखिन्छ, सेनामा जागिर भएकै कारण उनलाई त्यो अवसर मिलेको थियो । पछि दिल्ली सम्झौताबाट असन्तुष्ट उनले रक्षा दललाई साथमा लिएर सिंहदरबार विद्रोह गरेका थिए । बन्दुकको नालबाट सत्ता जन्मन्छ भन्ने सिद्धान्त लिएर सशस्त्र द्वन्द्वमा होमिएको माओवादीले त सिंहदरबार कब्जा गर्न सकेन, त्यस बेलै रामप्रसादको नेतृत्वले त्यो काम गरेको थियो । यो विषय उजागर गर्दा २००७ सालको क्रान्तिको फरक पाटो आउने रहेछ । रत्नकुमार बान्तवा नेकपा (माले)का संस्थापक सदस्य हुन् । हत्या भएको झन्डै ३८ वर्षपछि हालै उनलाई सहिद घोषणा गरेको छ । उनका बारेमा खोजमूलक लेख छ । सरस्वती राई, जो महिला आन्दोलन÷जागरणकी अगुवा हुन् । उनी राजसभा स्थायी समितिकी पहिलो महिला सदस्य थिइन् । त्यस्तै, मेरै गाउँठाउँ चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्द राष्ट्रिय विभूति हुन्, उनकै विषयमा पनि थुप्रै कुरा लेखिन बाँकी छ ।





 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan