आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
विचार
Sep 12, 2016
दसैंको लडाइँ
सोमबार, भाद्र २७, २०७३
–सचित राई
दसैं बहस
पुरानो भइसके पनि अझै सेलाइसकेको छैन । जब दसैं–तिहार नजिकिन्छ तब बहसले निरन्तरता पाउने गरेको छ । दसैंको पक्ष र विपक्षमा हुने यस्ता बहसले मलाई ‘चिमोट्ने’ गरेको छ । लाग्छ– यो बहसलाई सकारात्मक रूपमा लिएर हामी अगाडि बढ्न सक्नुपर्छ । यसलाई नकारात्मक रूपमा ग्रहण ग¥यौं भने हामी धार्मिक तथा साम्प्रदायिक द्वन्द्वमा जाकिन सक्छौं । ‘अतिले त खति गर्छ’ भन्ने पुरानै कथन हो । दसैैं बहसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने हो भने पक्कै सामाजिक तथा सांस्कृतिक सद्भावले निरन्तरता पाउनेछ । यो बहस किन निम्तियो भन्नेमा जरासम्मै पुगेर त्यसबाट पाठ सिक्न जरुरी छ । यही सन्दर्भमा म तपाईंलाई आफ्नै अनुभूतितर्फ डो¥याउँछु ।

–सचित राईबाल्यकालमा दसैं व्यग्र प्रतीक्षाको चाड हुने गथ्र्यो । दसैं कहिले आउला र नयाँ लुगा फेर्न, विभिन्न प्रकारका मीठा–मीठा परिकार खान पाइएला, टीका थापेसँगै दुई÷चार रुपैयाँ जोहो गरिएला भन्ने आस बढ्थ्यो । यस्ता रहरलाग्दा थुप्रै किस्सा छन् । आमाको पुच्छरे भएर मावल (पाँचथरको रवि—खेसाङखोप्पा) जान पाउँदा त हर्षको सीमा रहने कुरै भएन । अर्कोतर्फ दसैंमा पैसा बटुलेर दिने सर्तमा फुटबललगायतका विभिन्न खेल खेल्नुको आनन्द लेखेर साध्य छैन । यस्तो रमाइलो बाल्यावस्था पार गर्दै–गर्दा भने भाषा, धर्म तथा संस्कृतिप्रतिको अध्ययनपछि दसैं प्रतीक्षाको सूचीमा पर्न छाड्यो । मैले दसैंलाई प्राथमिकता दिइनँ । मेरा आमाआपा (आमाबुवा) दसैं आएपछि ‘दसा आयो है !’ भन्नुहुन्थ्यो । खासगरी, आपाले दसैंबाट आफू सताइएको पिरलो सुनाउनुहुन्थ्यो । यी यावत् पक्षको ठम्याइपछि मन आन्दोलित हुन थाल्यो । मैले दसैं मान्न छाडिदिएँ । विसं २०५२÷५३ देखि दसैंका नाममा टीका लगाउन छाडें । मेरो चाला देखेर सुरुआती दिनमा आपाले केही असहज मान्नुभएको महसुस गरें । मलाई पनि असहज त महसुस भएकै थियो । यद्यपि, उहाँले टीका लाउनै पर्ने दबाबचाहिँ दिनुभएन । त्यो उहाँको महानता हुनुपर्छ ।

परिवारमा साहिला दाजु रामकुमार पनि दसैंमा टीका थाप्नु हुन्थेन । उहाँ खाँटी कम्युनिस्ट बनिटोपल्नुभएको होला । दसैंमा प्रायः ६ दाजु–भाइ र दुई चेलीमध्ये हामी दुईको निधारमा टीका र शिरमा पातीको फूल सिउरिन्थेन । हाम्रो गाउँ (इलाम बाँझो– जुन क्षेत्रलाई मिक्लुङ भनिन्थ्यो)मा दसैंमा दहीमा चामल मुछेको सेतो टीकासँगै आशीर्वाद थमौनी जमराको साटो तीतेपातीको फूल सिउरिदिने चलन छ । यसो भनौं कि घटस्थापनामा जमरा राख्ने चलन छैन । न बलि चढाइन्छ । अधिकांश घरमा एकदम शाकाहारी तरिका अपनाइन्छ । त्यस्तै, अक्षता टीकाको साटो चन्दन लगाउने चलन पनि बढेको छ । त्यसैले हामीकहाँ अलि फरक छ दसैं परम्परा ।

दसैंमा टीका नथाप्नु मेरा लागि बहुल भाषा, धर्म तथा संस्कृति भएको मुलुकमा राज्यले लिएको ‘एकल नीति’प्रतिको आक्रोश थियो । मैले दसैं नमान्नुलाई हिन्दू धर्म तथा संस्कार–संस्कृतिप्रतिको प्रहारका रूपमा लिएको छैन किनकि म धर्मान्ध होइन । धर्मान्धले हो अरूको देखी नसहने । तर, राज्यसत्ताले वर्षौंदेखि हिन्दू धर्म, भाषामा खस–पर्वते तथा हिन्दू संस्कार–संस्कृतिलाई संरक्षण मात्र होइन, यी भाषा, धर्म तथा संस्कृति सीमान्तकृत समुदायमा लादेकाप्रति एकप्रकार विद्रोह थियो त्यो । राज्यले आदिवासी जनजातिका भाषा, धर्म तथा संस्कृतिमाथि दमनको नीति लिएको त सबैमा जगजाहेरै छ । यहाँ सानो तथ्य पेस गरौं– राजा राजेन्द्र शाहको पालामा लिम्बुवानबाट कुरुवा (प्रतिनिधि) काठमाडौं झिकाउने चलन बस्यो । पहिलोपटक दस लिम्बुवान र सत्र थुमको प्रतिनिधित्व गरी याङरुप थुमका बागनसिंह (बागवीर) हेम्ब्या कुरुवा छानिएर काठमाडौं आए । राजाको आदेशमा उनले दुईडोरे जनै लगाए । गोबध नगर्ने, राजधर्म मान्ने र सारा लिम्बुवानका लिम्बू जातिले जनै अनिवार्य लगाउनुपर्ने राजाको आदेश स्वीकार गरे । १६ ढाकर जनै बोकाएर उनी याङ्रुप थुम गए । याङ्रुप थुमका केही लिम्बूले त दुईडोरे जनै लगाए पनि । त्यस निर्णयको विरोधमा अन्य थुमका लिम्बूहरू उत्रिए । आपत्कालीन चुम्लुङ (सभा) बस्यो । लिम्बूहरूले जनै लगाउने कुराको विरोध भयो । आफ्नो जातिको रीति गुमाएको अभियोगमा बागनसिंहलाई कुरुवा पदबाट हटाई नयाँ कुरुवाका रूपमा याङनाम हिवाखोला थुमबाट अटलसिंह जबेगूलाई केन्द्रमा पठाइयो । उनले काठमाडौं पुगेर राजासमक्ष लिम्बुवानको जनताले आफ्नै किरात धर्म तथा नीति मान्ने, जनै नलगाउने, गोबध नगर्ने तर मरेको गाईको मासु एक पैसा मेन्जेन (जरिवाना) तिरेर खान पाउनुपर्ने माग गरे । राजाले उक्त माग पूरा गरे । अनि लिम्बूहरूको रीति थामिएको कुरा डा. देवी दुलालले लेखेको ‘पाँचथरको इतिहास’ नामक कृतिमा उल्लेख छ ।

त्यस बेला लिम्बूहरूको रीति थामिएको उल्लेख भए पनि राज्य पक्षबाट धार्मिक, भाषिक तथा सांस्कृतिक अतिक्रमण भने नरोएिकै रहेछ । विसं २०४६ मा प्रजातन्त्र पुनर्बहाली भएपछि पनि आदिवासी जनजातिले अधिकार पाउन सकेनन् । २००७ सालको परिवर्तनको कुरै छाडौं । राज्यसत्तामा पहुँच नभएकै कारण पछाडि पारिएका आदिवासी जनजातिलगायत उत्पीडित विभिन्न समुदाय तथा अल्पसंख्यकलाई २०४६ सालको राजनीतिक परिवर्तनले अधिकार प्राप्तिको बाटोसम्म खोलिदियो । वर्षौं दबाएर राखिएका जाति तथा समुदायलाई न्याय भने मिलेन । देश विभिन्न जातजाति तथा धर्मावलम्बीको साझा भए पनि एकलौटी ‘हिन्दूराष्ट्रकै’ रूपमा रह्यो । व्यवहार पनि त्यसरी नै गरियो ।

त्यस्तो परिस्थितिबाट गुज्रँदै गर्दा दसैंमा टीका नथापेर मैले राज्यप्रति आक्रोश पोखेको रहेछु । त्यो मेरो विद्रोह रहेछ– अहिले मूल्यांकन गर्छु । त्यस बेला दसैं नमान्ने लहडै चलेको थियो । ‘दसैं हाम्रो होइन, यो त लादिएको हो’ भन्ने कुरा सुन्न पाइन्थ्यो । यस सन्दर्भमा इतिहास थोरै कोट्याऔं– राणाशासकले दसैं मान्नुपर्ने उर्दी लगाउँदा विसं १९४२ मा रामलिहाङ र रिदमाले धनकुटामा बहिष्कार गरेपछि सहादत हुनुप¥यो । दसैं लाद्ने क्रममा राज्यले दुई जनाको हत्या गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलित भएका कथनहरू भेटिन्छन् । मानवशास्त्री डम्बर चेम्जोङका शब्दमा दसैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । रगतको पञ्जाछाप भए÷नभएको निरीक्षण गर्न गोश्वारा, गौंडाअड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बुवानमा । दसैं नमानेको, पशुबलि नदिएको भेटिए सजायको भागीदार हुन्थे लिम्बू सुब्बाहरू ।

यी केही तथ्यबाटै पनि दसैं हिन्दूइतर धर्मावलम्बीको परम्परागत चाड होइन भन्ने स्पष्ट हुन्छ । अर्कातर्फ किरातहरू मुन्दुममा आधारित धर्म, संस्कार अपनाउँछन् भने प्रकृति तथा पितृको पूजासहित महत्वका साथ उँधौली र उँभौली चाड मनाउँछन् । अन्य जातजातिका पनि आआफ्नै परम्परागत धर्म तथा संस्कार–संस्कृति छ । यहाँ उल्लेख गर्नुपर्ने विषय के हो भने मुन्दुममा न कहीं दुर्गा भवानीको कथा छ न त राम र रावणकै । समाशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणबाट हेर्दा पनि दसैं हिन्दू धर्म तथा दर्शनमा आधारित भएको स्पष्ट हुन्छ । दसैं आदिवासी जनजातिकै चाड हो भन्ने तर्क पनि यदाकदा नसुनिएको भने होइन । यसलाई तर्कका लागि तर्ककै रूपमा मात्र लिँदा सान्दर्भिक होला । यसका साथै दसैंको आर्थिक तथा राजनीतिक पक्ष पनि उत्तिकै विश्लेषणीय पाटो भएर आएको छ । दसैंले उमंग र हर्ष मात्र होइन, विस्मात् पनि थप्ने गरेको छ । यस्ता विसंगतिका पक्ष थुप्रै छन् । ‘हुने खानेलाई दसैं, नहुनेलाई दसा’ भन्ने त उखान नै बनिसकेको छ । दुःखजिलो गरेर खानेका लागि वर्षमा दसैं ‘एकछाक’जस्तै हो । ‘आयो दसैं रमाई–रमाई गयो दसैं ऋण बोकाई’ भन्ने सुनिनुले आर्थिक तथा सामाजिक पक्षलाई इंगित गर्छ । यसले वर्गीय विभेदको अवस्थाको संकेत गर्छ । यस्ता विसंगतिका पक्षलाई धेरै नकोट्याऔं ।

उँभौली र उँधौलीका दिन सार्वजनिक बिदा भन्ने थाहा पाउँदा म यति दंग परेको थिएँ कि न भनेर साध्य न त लेखेरै । मैले साकेन्वा सिलीका लागि खुट्टा चाल्न जानेको पल सायदै बिर्सन्छु । किनकि, पूर्व (मेची अञ्चल)मा त भर्खरजस्तो लाग्छ ढोल, झ्याम्टाको ढेङ्कु–ढेङ्कु तालमा नाच्न सिकेको । इलामको शान्तिडाँडाका लीला राईले खुट्टा चाल्न सिकाए । भाषा जाने पनि उँधौली र उँभौलीजस्ता मौलिक चाडको महत्व थाहा थिएन मलाई । राज्यले स्कुलमा पढाएर होस् या सामाजिक थिति बसालिदिएका कारण म यस्तो अवस्थामा पुगें भन्न कञ्जुस्याइँ गर्दिनँ । या हाम्रा पुर्खाले बिर्सिएका हुन् संस्कार–संस्कृति ? मलाई मेरो भाषा, धर्म तथा संस्कृतिबारे सिकाएको भए अहिले आएर खोजी गरिरहनुपर्ने थिएन । राणाशासन बेहोरेका बूढापाका पनि ‘दसैं त हाम्रो होइन राणाहरूले मान्नु लगाएको’ भन्थे । बूढापाकाका कुराले पनि आन्दोलित गरायो होला । दसैं बहिष्कारको लहरमा पनि परें हुँला, बहकिएँ होला । त्यो बहकाइ सही नै रहेछ ठान्छु म । मैले त्यही बेला ‘दसैंप्रति घट्दो मोह’ भनेर फिचर प्रकाशन गरेको थिएँ– सम्झन्छु, ठिकै गरेछु ।

कुरा रह्यो गणतान्त्रिक नेपालको । २०६२÷६३ मा भएको जनआन्दोलनको उपलब्धिस्वरूप मुलुक धर्मनिरपेक्ष बन्यो । तर, अझै जनजाति, मधेसीलगायत उत्पीडित जाति, समुदाय, क्षेत्र तथा लिंगका असन्तुष्टिका स्वरहरू निरन्तर नै छन् । खास अर्थमा नयाँ नेपाल बन्न सकेको छैन, नयाँ नेपाल भनियो मात्रै । अब दसैंलाई हेरौं न, यसलाई राज्यले अझै यति धेरै महत्व दिएको छ कि ‘धर्मलाई अफिम’ मान्ने विचार तथा सिद्धान्तबाट प्रेरित नेताहरू नै यसमा लागिपरेका छन् । उनीहरू रूपान्तरण हुन सकेका छैनन् । दसैं परम्परालाई विगतका शासकहरूले जस्तै गरी नयाँ नेपालका सत्ताधारीले पनि निरन्तरता दिइरहेका छन् । उनीहरू ‘समावेशी’ नामको माला जप्दै बसिरहेछन् । अर्कातर्फ सबै भाषालाई उत्तिकै मान्यता दिने घोषणा भए पनि कार्यान्वयन हुन नसकेको अवस्था छ । यद्यपि, सीमान्तकृत भाषा, धर्म तथा संस्कृतिको विकासका लागि गणतन्त्र स्थापनासँगै बाटोचाहिँ फराकिलो बनेकै हो । यसैबीच संविधानसभाबाट संविधान बनाउने २००७ सालदेखिको सपना २०७२ असोज ३ गते साकार भएको छ । यससँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ । अब सबैले फुल्ने–फल्ने अवसर पाऊन् ।

धर्मलाई म व्यक्तिको ‘आत्मनिर्णय’को अधिकार मान्छु । धर्म आचरण हो, अनुशासन हो अनि यो जीवन जिउने पद्धति र प्रक्रिया पनि हो । तर, ‘धर्मान्ध समाज’मा धर्मको विकास भन्दै अरूको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति छ । धर्मलाई अफिमको संज्ञा त्यत्तिकै दिइएको होइन रहेछ । विश्वको राजनीतिसमेत धर्मबाट प्रभावित हुँदै आएको स्पष्टै छ । धर्मकै आडमा नेपालमा वर्षौंसम्म एकलौटी शासन लादिएको हामीले भोगेकै हो ।

देश धर्मनिरपेक्ष भइसकेपछि पनि दसैंमा मैले टीका लगाएको थिइनँ । २०६४ सालको दसैंमा टीका नलगाउँदा केही थकथकी लाग्यो । आपाआमाको हातको टीका कतिन्जेल नलगाइरहने ? संसारकै महान् र श्रद्धेय व्यक्तित्व आपाआमा रहेछन् । वर्षदिनमा बल्लतल्ल दसैंकै छेक भेट हुन्छ । त्यही पनि नमरी बाँचे कालैले साँचे भेट हुने हो । राज्यले भेटघाटको अवसर नै दसैंलाई बनाइदिएको छ त म के गरूँ ? फेरि मेरो एक मनले भन्यो– यो त सांस्कृतिक लडाइँ हो । तर, विसं २०६६ मा भने मेरो सांस्कृतिक लडाइँले कोल्टे फे¥यो । त्यो सालको दसैंमा टीका (अक्षता टीका होइन चन्दन) लगाएँ । त्यो मेरो बाध्यता बन्यो । बाध्यता यसकारण कि विसं २०६५ मा आमाको निधन भयो । आमाको निधनपछि आपाको विक्षिप्त मनलाई ठेस पार्न चाहिनँ । अर्काेतर्फ केही वर्षको अन्तरालमा भेटिने आपासँग नाइँनास्ती गर्ने कुरा पनि रहेन । खासगरी, दसैंमा दिइने लामो बिदाको विभेद यहाँ जोडिन्छ । त्यस्तै, बिहेपछि दसैंमा घर पुगेको पहिलोपटक थियो । भाउजूहरूको माया पनि बाध्यता बनेर आइदियो । उहाँहरूले म अगाडि नसरी टीका नथाप्ने अडान लिइदिनुभयो । त्यसमा झुक्नुपर्ने भयो । त्यसो त दसैं नमानिरहूँ÷बहिष्कार मात्रै गरिरहूँ भन्ने अडान पनि होइन मेरो । हामीले पश्चिमा संस्कार तथा संस्कृतिलाई सहज रूपमा आत्मसात् गर्न मिल्छ भने आफ्नै देशका चाडपर्व किन नमान्ने ? हामीले मानिआएको पनि हो । तर, पहिलो कुरा त राज्य सबै धर्म तथा संस्कृतिप्रति सहिष्णु बन्नुप¥यो भन्ने आग्रह हो । नेपाली बहुलतालाई स्वीकार गर्नुप¥यो भन्ने मात्तै हो । अब भन्नुस्, मजस्ताले धार्मिक सहिष्णुताको पाठ पढेर आफ्नै मौलिक चाडपर्वलाई नामेट पार्न खोजिएको यथार्थचाहिँ कहिलेसम्म नबुझ्ने ?

पत्रकार राईको खोजअनुसन्धानमूलक कृति ‘माङखिम’बाट




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang