बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
देश
Dec 29, 2017
ओलीको सत्तारोहणमा प्रचण्ड वाधक होलान ?
शुक्रबार, पौष १४, २०७४
काठमाडौं : नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा विद्यावारिधी गरेका राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीका शब्दमा नेपाली सत्ता राजनीतिको सदावहार अस्थिरताका नायक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन । प्रचण्डले आफ्नो स्वार्थका लागि जुन सुकै कदम जुनसुकै बेला जुनसुकै स्तरको जोखिम मोलेर पनि उठाउन सक्छन । त्यसैले ताजा चुनावी मतादेशका आधारमा वाम गठबन्धनले पाएको दुई तिहाई बहुमतकै आधारमा वाम सरकार निर्माण भैहाल्छ भन्ने सुनिश्चितता छैन ।

२०५२ देखि जनयुद्धको राप र तापले अनि २०६३ को परिवर्तनपछि सत्ताको निरन्तर दाउपेचमा साँच्चै प्रचण्ड आफू नाम वा बदनाम जुनसुकै तरिकाले पनि केन्द्रीय राजनीतिलाई आफ्नो वरिपरि घुमाईरहन एक हदसम्म सफल पनि भएका छन । उनले जता जो सँग आफ्नो सहयोगी हात बढाउछन, उसैको सत्ता शक्ति बनेका उदाहरण विगतमा प्रशस्त छन् । अहिले वाम गठबन्धनले सजिलै सरकार बनाउने जनादेश भए पनि प्रचण्डको साहारा बिना एमाले नेतृत्वको नयाँ सरकार बन्न कठिन हुने र बनिहाले पनि टिक्न मुश्किल हुने आँकलनहरु सुरु भैसकेका छन, राजनीतिक बजारमा ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार भेटेपछि माओवादी र कांग्रेसबीच सत्तासहकार्यका नयाँ विकल्पबारे छलफल भएका खबरहरु सार्वजनिक भएका छन । कांग्रेसका नेताहरुले अस्वीकार गरे पनि कांग्रेस सभापति देउवाले नयाँ सरकारको नेतृत्व प्रचण्डलाई गर्न आग्रह गरिरएको थियो भन्ने चर्चा सोमबार माओवादी सचिवालय वैठकमा चर्चा भएको थियो । कांग्रेसको सर्मथनमा आफूलाई नयाँ सरकार बनाउने अफर सभापति देउवाबाट आएको तर आफूले अस्वीकार गरेको भनी प्रचण्डले सचिवालय वैठकमा रिर्पोटिंग गरेका खबरहरु बाहिर आएका छन ।

जबकी शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको दउवा प्रचण्डबीचको वार्ता मुलतः सत्तामा भन्दा ज्यादा राष्ट्रियसभाको गठन र त्यसबारेको अध्यादेश जारी गराउन प्रचण्डले पहल गरिदिउन भन्ने देउवाको आग्रहमा केन्द्रीत रहेको बताईएको थियो । सार्वजनिक खबरमा आए जस्तो राष्ट्रियसभाको गठन र त्यसबारेको अध्यादेश जारी गर्ने बारेमा मात्रै देउवा र प्रचण्ड भेटवार्ता सीमित भयो होला भन्न त सकिन्न ।

किनभने देउवा र प्रचण्ड यो चुनावमा आमने सामने भएका भए पनि बिगतको स्थानीय चुनावमा एकैै गठबन्धनबाट चुनाव लडेका र जितेका दलका शीर्ष नेता हुन । यस्तै करीव दुई वर्ष उनीहरुले सत्तासहकार्य पनि गरेकै हुन । त्यसैले राष्ट्रियसभाको गठन र त्यसबारेको अध्यादेश जारीमा राष्ट्रपति

विद्या भण्डारीलाई असंवैधानिक काम गर्न नउक्साउन एमालेलाई आग्रह गर्नेदेखि मध्यस्तकत्र्ता भैदिन देउवाले प्रचण्डको साथ खोजेको कुरा सत्य साँचो नै हुन सक्छ । देउवाले यसै मेलोमा नयाँ सरकारका सम्भावना खोज्दै गर्दा प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेनन होला भन्न सकिन्न, भलै त्यो उच्चस्तरीय वार्ताको भित्री कुरो मिडियालाई थाहा नदिईएको हुन सक्छ ।

कांग्रेस नेता र प्रधानमन्त्रीका निकटहरुका शब्दमा, सरकार निर्माणबारे प्रधानमन्त्रीसँग कुनै नेताको कुरा भएको छैन । कांग्रेस समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको भन्ने कुरा गलत हो । कांग्रेस प्रतिपक्षमा बस्छ । सत्तामा उसको चासो छैन । यी र यस्ता कुरा राजनीति र खासगरी सत्ता राजनीतिमा सिधै भनिन्न नै । जे भनिन्छ, त्यो गरिदैन र जे गरिन्छ त्यो भनिदैन भन्ने राजनीतिको अभ्यासलाई मान्ने हो भने भावी सत्ता साझेदारीबारे प्रचण्ड र देउवा वीच संवाद नै नभएको मान्न सकिन्न नै ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भावी सरकारको नेतृत्व गर्न आफूलाई नेपाली कांग्रेसबाट प्रस्ताव आएको बताउँदै आफूले त्यो अस्वीकार गरिदिएको पार्टी सचिवालय वैठकमा बताएर आफूलाई चर्चामा ल्याउन मात्रै खोजेका पनि हुन सक्छन, वा आफ्नो गठबन्धनको दल एमालेका नेताहरुलाई तर्साउन र साईजमा राख्न राजनीतिक फण्डा खेलेका पनि हुन सक्छन ।

तर एउटा कुरा के सत्य हो भने प्रचण्ड एमालेसँग मिलेपनि नमिलेपनि, एमालेसँग एकता भएपनि नभएपनि उनी शक्तिहीन भएर बस्ने स्वभाव, चरित्र भएका नेता अवस्यै होईनन । उनले पार्टी एकीकरण वा भावी सत्तासमीकरणमा आफ्नो केन्द्रीय र निर्णायक भुमिका नपाएमा जुनसुकै कोल्टे फेर्न सक्ने र त्यसलाई सही भनेर व्याख्या गर्ने खुबी राख्छन भन्ने लोकले जाने बुझेको प्रचण्ड चरित्र नै हो ।

मंसिर १० र २१ को ताजा चुनावी परिणामपछि पहिलोपटक पार्टीको प्रमुख नेताहरु रहेको केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवाले त्यस्तो प्रस्ताव राखेको जानकारी दिएर एमालेभित्र संसदीय दलको नेता तथा प्रधानमन्त्रत्री र पार्टी अध्यक्ष केपी ओली नै हुनुपर्छ भन्ने महासचिव ईश्वर पोखरेलहरुको अतिवादी लाईनलाई मुख फर्काएका पनि हुन सक्छन ।

किनभने एमालेमा आफ्नो नेतृत्व स्थापित गर्न प्रचण्डलाई एमाले अध्यक्ष ओलीलाई सरकारमा बिराजमान गराएर आफू एकीकृत पार्टीको नयाँ अध्यक्ष हुनु नै छ । कतिसम्म भने प्रचण्डले एकतापछि एमालेको वा नयाँ नाम दिईने पार्टीको अध्यक्ष हुन पाएन्न भने निश्चित छ, माओवादी र एमाले वीचको पार्टी एकता करायो करायो दक्षिणा हरायो हुने खतरा पनि उत्तिकै बलशाली छ । यो शंका र पीरले माओवादी एमाले दुबै दलका एकता पक्षधर नेताहरुको निदहराम भएको तथ्य पनि ओपन सेक्रेट हो ।

जनादेशले कांग्रेसलाई बलियो र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएको भए पनि सत्ता राजनीतिमा देउवा पनि पूर्वआँकलन गर्न नसकिने माहिर अनुभवी खेलाडी हुन । देउवाले अहिले राष्ट्रियसभाको गठन र त्यसबारेको अध्यादेश जारी गराएर सत्ता छोड्ने जुन वाचा गरेका छन, त्यो उनको संविधानतः बेठिक कदम र अडान होईन । किन भने उनी हालसम्म देशका निर्वाचित कार्यकारी सरकार प्रमुख नै हुन, भलै कामचलाउ हैसियतामा रहेपनि ।

तर देउवाले वाम गठबन्धनको भावी सत्तायात्रालाई प्रतिपक्षी बेन्चमा बसेर टुलुटुलु हेरेर थपडी मात्रै बजाई रहनेछन भन्ने आँकलन भावी प्रधानमन्त्री ओली वा वाम एकताका अभियन्ता वामदेव गौतमहरुले गरिरहेका हुन भने त्यो पूर्णसत्य नहुन सक्छ । देउवा संसदीय अंकगणीतको राजनीतिक खेलका कहिल्यै नहार्ने सुरा र श्रेष्ठ खेलाडी हुन ।

एउटा कुरा के सत्य हो भने प्रचण्डको साथ अहिले जारी बिबाद राष्ट्रियसभाको गठन र त्यसबारेको अध्यादेश जारी गराउन कांग्रेसका लागि अपरीहार्य छ भने ओलीका लागि फेरि प्रधानमन्त्री हुनका लागि अपरीहार्य छ । ओलीले प्रचण्डलाई पार्टी अधयक्षमा थन्क्याएर हुन्छ वा अरु कुनै पनि विकल्पबाट प्रचण्डलाई व्यवस्थापन गर्न नसकेसम्म स्थिर सरकारको कुर्सी सुनिश्चित गर्न असंभव नै छ ।

ताजा जनादेशले एमालेलाई धेरै ठूलो, माओवादीलाई दोस्रो र कांग्रेसलाई तेस्रो तथा मधेशवादी दललाई चौथो संसदीय स्थान दिनु नै एमाले र ओलीका लागि संसदीय अंकगणितको चुनौति हो भने माओवादीलाई आफु अनुकुल सत्ता चलखेल गर्ने मौका हो ।

प्रतिपक्षीमा सीमित भए पनि भावी ओली सत्तामाथि धाबा बोल्न प्रचण्डको दलको स्थान देउवाका लागि बलियो हतियार पनि हो । देउवाका लागि मधेशी दल र माओवादी नरम भैदिए मात्रै पनि एमाले विरुद्ध लाग्न पर्याप्त हुने संसदीय अंकगणित मतादेशले दिएको छ ।

त्यसैले सुनिश्चित ठानिएको ओलीको सत्तारोहण जति लम्विन्छ, उति नै प्रचण्डको दुई हातमा सत्ताशक्तिरुपी लड्डु रहिरहने मान्न सकिन्छ । प्रचण्डले त्वम् शरणम गरेर एमालेसँग पार्टी एकता नगर्ने शर्तमा देउवासँगको राजनीतिक सत्ता साईनो पुनः व्यूँताउलान, नव्यूँताउलान यसै भन्न सकिन्न, तर उनी भावी ओली सत्ताका असली डिजाईनर वा खलनायक हुने भने निश्चित छ । कुनैपनि राजनीतिक समीकरणले ओली प्रधानमन्त्री हुन पाएनन भने त्यो पनि नेपाली भू–धरातलीय सत्ता राजनीतिमा नयाँ कुरा किन हुने छैन भने, राजनीति सम्भावनाहरुको खेल नै हो ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan