शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Feb 16, 2018
संघीय सरकारको ऐतिहासिक प्रधानमन्त्रीमा ओली
शुक्रबार, फागुन ४, २०७४
- अशाेक शिवाकोटी
लामो समयको बाम गठबन्धनको सहकार्य पश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको संघीय सरकारको ऐतिहासिक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीका लागि वाम गठबन्धनले दाबी गरेको र उक्त गठबन्धनको बहुमत पुग्ने भएकोले ओली प्रधानमन्त्री नियुक्त भएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहिबार ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । ओली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनको साथै राष्ट्रपति कार्यालय सहितको पत्र लिएर राष्ट्रपति कार्यालय पुगेका थिए । राष्ट्रपति कार्यालयमा ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतको उपस्थिति रहेको थियो ।

एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा हिजै बिहिबार १ बजे बसेको नेकपा एमालेको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेता चयन गरेको थियो । शुक्रबार सार्वजनिक विदा र शनिवार पनि विदा हुने भएकोले बिहीबारै ४ बजे नेपालको संविधान २०७२ को धारा ८० अनुसार राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

तीन सदस्यीय मन्त्रीपरिषद् गठन
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका सदस्य पण्डितलाई जनसंख्या तथा वातावरण र थापालाई महिला, बालबालिका र समाजकल्याण मन्त्रीमा नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा क्रमशः प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित उनीहरुलाई बिहिबारै पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलका सचेतक हुन । पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधि लगायत सहभागी थिए ।

माओबादी सरकारमा नजाने
माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारमा नजाने तर केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा नेता रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, मातृका यादवलगायतका नेताहको सहभागी रहेको थियो । पार्टी एकताको सन्दर्भमा दुई पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकमा लिखित सहमति गर्ने बेलामा एमाले नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जबज) छोड्न नसक्ने बताएका थिए ।

ओलीले पनि नेपालको कुरालाई दृढतापूर्वक समर्थन गरी जबजलाई कार्यान्वयन गर्ने बताईरहँदा माओवादीले भने जबज र २१ औ शताब्दीको जनवाद दुवैलाई थाती राखेर महाधिवेशनमा जानु पर्ने प्रस्ताव राखेको थियो । एमालेले जबज छोड्न नसकिने बताएपछि माओवादी तत्काललाई सरकारमा नजाने निर्णयमा पुगेको हो ।

प्रधानमन्त्री ओलीले माओवादीसँग पहिलो मन्त्रिपरिषदको गठनका लागि दुईजना मन्त्री मागेका थिए तर माओवादीले सरकारमा तत्काल नजाने भन्दै मन्त्रीको नाम समेत पठाएन ।

ओली र दाहालबीच भयो यस्तो सहमति
पार्टी एकताको विषयमा लामो समयदेखि वार्ता गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमति नजिक पुगेका छन् ।

सोमबार र मंगलबार छुट्टा छुट्टै रुपमा सम्पन्न दुई दलका अध्यक्षबीचको वार्ताहरुमा सरकार गठन र पार्टीको नेतृत्वका सन्दर्भमा सहमति गरेका थिए । सहमति अनुसार बाम गठबन्धनको एकता महाधिवेशनसम्म ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुनेछन् र सरकारको नेतृत्व आलोपालो गर्ने छन् ।

एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्ने लगायतका विकल्पमा यसअघि विभिन्न चरणमा छलफल भएको थियो । तर, यस अघिका छलफलहरुमा नेतृत्वका सन्दर्भमा शीर्ष तहमा सहमति जुट्न सकेको थिएन । लामो समयपछि दुवै अध्यक्ष सहअध्यक्ष रहने समझदारी कायम गरी एकताको प्रक्रिया पूरा गर्न सहमत भएका हुन ।

यस विषयमा थप गृहकार्य तथा टुङ्गो लगाउन दुबै पार्टीका शीर्ष नेताहरु सम्मिलित एकता संयोजन समितिको गठन समेत भईसकेको र सो समितिको सोमबार बस्ने भनिएको बैठक माओवादी केन्द्रले प्रतिनिधिसभामा समानुपातिक सांसदहरूको नामावली टुंग्याउनुपर्ने भन्दै स्थगित गरिएको थियो ।

दुई पार्टीबीच एकता गर्ने सैद्धान्तिक सहमति प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि नै भएपनि पछिल्लो एक महिनादेखि एकताको विषयमा खासै टुङ्गो लाग्न सकेको थिएन । पछिल्लो समय नेतृत्वको सन्दर्भमा एकता प्रक्रिया केन्द्रित थियो ।

दुई कार्यकारी पद प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक आफूले पाउनुपर्ने अडान माओवादी केन्द्रले लिँदै आएको थियो भने एमालेले महाधिवेशनसम्म केपी शर्मा ओली नै प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुपर्ने अडान लिदै आएको थियो । यसै क्रममा पार्टी एकताका संयोजन समितिको बुधबार बसेको बैठकले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अगाडि बढाउने निर्णय गरेको थियो ।

ललितपुरको मानभवनस्थित एक घरमा बसेको समितिको ४ घन्टा लामो बैठकपछि बैठकका निर्णयबारे जानकारी दिँदै एमालेका तर्फबाट संयोजन समितिका सदस्य वामदेव गौतमले पार्टी एकताका लागि संगठनात्मक व्यवस्थापन र विचार तथा सिद्धान्त निर्माणका लागि छुट्टै समिति बनाइने बताएका थिए ।

माओवादी केन्द्रका तर्फबाट संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बुधबारको बैठकमा सबै विषयमा टुंगो लगाउन नभ्याइएको भन्दै पुनः समितिको बैठक बसेर टुंगो लगाइने बताएका थिए । संयोजन समितिको बैठक बस्नुअघि एमालेको स्थायी कमिटी बैठक बसेको थियो भने माओवादी केन्द्रको पनि केन्द्रीय कार्यालय सदस्यहरूको बैठक बसेको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang