शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
समाचार
Sep 10, 2018
पूर्णचन्द्र थापा ४३औं प्रधानसेनापति
सोमबार, भाद्र २५, २०७५
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । उहाँ नेपालको ४३औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नुभएको छ ।

दज्र्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख लगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो । प्रधानसेनापति थापाले दज्र्यानी चिन्ह ग्रहणपछि सैनिक मुख्यालय जंगी अड्डा पुगेर औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएको हो ।

महारथी थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अवकाश पाउने भएपछि एक महिनाअघि नै विदा बस्नुभएको थियो । विगतको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो । क्षेत्रीको कार्यकाल भदौ २४ बाट औपचारिक रुपमा सकिएकाले नेपाली सेनाको कमाण्ड औपचारिक रुपमा थापाको हातमा आएको छ ।

विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिनुभएका थापा २०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना हुनुभएको हो । उहाँ २०३७ मंसिर २७ गते गोरखबहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त हुनुभएको थियो । थापाले भारतबाट बटालियन सपोर्ट वेपन, योङ अफिसर कोर्स र नेशनल डिफेन्स कोर्स पूरा गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाबाट इन्फेन्ट्री अफिसर्स एडभान्स कोर्स र एक्जुकिटीभ कोर्स गर्नुभएका उहाँले नेपालमै कमाण्ड एण्ड स्टाफ कलेज समेत गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयका डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गर्नुभएको छ । प्रधानसेनापतिमा सिफारिश हुनभएका कामु प्रधानसेनापति थापाको हजुरबुबा र बुबा दुवैजना नेपाली सेना हुनुहुन्थ्यो । बुवा प्रमुख सेनानी फणेन्द्रबहादुर थापा र आमा सावित्री थापाको उहाँ कान्छा छोरा हुनुहुन्छ ।

प्रमुख सेनानी हुँदा थापाले श्रीजंग गण कमाण्ड गर्नुको साथै बाहिनीमा जी—३ को कार्यभार पनि सम्हाल्नुभएको थियो । प्रमुख सैनिक सचिवालयको कार्यलयमा प्रमुख सेनानी हुँदा सम्पर्क अधिकृतको रुपमा समेत काम गर्नुभएको छ । उहाँले जी—२ स्टाफको जिम्मेवारी पनि सम्हाल्नुभएको छ ।

विसं. २०६९ जेठ २ गते उपरथी दर्जामा पदोन्नति हुनुभएका थापा कार्यरथी विभागमा नियुक्त हुनुभएको थियो । उहाँले उपत्यका पृतनाको कमाण्ड सम्हालनुका साथै जंगी अड्डास्थित सम्भार रथी विभागमा समेत काम गर्नुभएको छ । संयुक्त राष्ट्रसंघमा पटक—पटक गरी विभिन्न नियुक्तिमा सेवा गर्नुभएका उहाँ २०७१ माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्रसंघको मध्यपूर्वस्थित इजरायल तथा सिरियाको सिमानास्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघको विच्छेदन पर्यवेक्षक दल (युएनडिओएफ) को हेड अफ द मिसन तथा फोर्स कमाण्डर पदमा पनि कार्य गर्नुभएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan